पाल्पा – इलाका प्रहरी कार्यालय, रामपुरले लामो समयदेखि रामपुर क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका टोले गुण्डा आदेश रानालाई पक्राउ गरेको छ।

बुधबार बिहान १:१० बजे प्रहरी निरीक्षक रामबहादुर नेपालीको कमाण्डमा खटिएको टोलीले २५ वर्षीय आदेश रानासँगै उनका साथी २५ वर्षीय धनबहादुर दर्लामीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

उनीहरूलाई रामपुर नगरपालिका–४, अधेरीखोलास्थित कालीगण्डकी करिडोर सडकखण्डबाट नियन्त्रणमा लिइएको हो।

मंगलबार राति लु ३ च ७२६१ नम्बरको पिकअप गाडीमा नवलपरासीको सुनवल नगरपालिका–१२ भुमहीबाट पाल्नका लागि ल्याइएको जर्सी गाई लोड गरी स्याङ्जाको चापाकोट नगरपालिका–५, साखर जाँदै गर्दा आदेश रानाले बाटो छेकेर गाडीधनीसँग पैसा माग्नुका साथै धम्की, गाली गलौज र हातपात समेत गरेका थिए।

टोले गुण्डा रानाले यसअघि पनि रामपुर क्षेत्रमा गुण्डागर्दी, झै–झगडा, लुटपाट, कुटपिट, धम्की र अवैध असुली जस्ता गैरकानूनी कार्य गर्दै आएको जनाइएको छ। उनी प्रहरीको उच्च निगरानीमा थिए।

पक्राउ परेपछि आदेश राना र उनका सहयोगी दर्लामीलाई पाल्पा जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि म्याद लिइएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवनकुमार भट्टराईले कमाण्ड सम्हालेको केही दिनमै पाल्पा क्षेत्रमा सक्रिय आपराधिक समूहका नाइकेलाई नियन्त्रणमा लिन सफल भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय