काठमाडौं – आज जेठ १५ गते गणतन्त्र स्थापनाको अवसरमा नेकपा एमालेले उत्सव मनाउने र राजावादी पक्षले राजसंस्थाको पुनर्स्थापनाका लागि प्रदर्शन गर्ने कार्यक्रम एकैदिन परेपछि काठमाडौंमा ६ हजार सुरक्षाकर्मी खटाइएको छ।

सत्तारूढ नेकपा एमालेले गणतन्त्र दिवसका अवसरमा झाँकीसहितको सांस्कृतिक प्रदर्शन गर्ने तयारी गरेको छ। उता, पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी पक्षले पनि शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको छ। उपत्यका बाहिरबाट पनि ठूलो संख्यामा समर्थकहरू ल्याइएपछि राजधानी केन्द्रित शक्ति प्रदर्शन हुने भएको हो। उनीहरूलाई दिउँसो २ बजेपछि प्रदर्शनको अनुमति दिइएको छ।

यसै सन्दर्भमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी ६ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले जनाएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी रमेश थापाका अनुसार, उपत्यकाका सबै संवेदनशील क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

सशस्त्र प्रहरीले पनि अघिल्लो प्रदर्शनको तुलनामा यस पटक अझ सजकता अपनाएको जनाएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार समन्वयमा परिचालन गरिएको जानकारी दिए।

चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनबाट सिक्दै सुरक्षा निकायहरूले यो पटक विशेष सजगता अपनाएका छन्।

बुधबार बिहान उपत्यका प्रहरी कार्यालयले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका सबै प्रमुख सुरक्षा अधिकारीहरूको बैठक बोलाएर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो।

सो अवसरमा उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले भिड नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीहरूलाई उच्च मनोबल, सामूहिक भावना र पूर्ण पेशागत शैलीमा कार्य गर्न निर्देशन दिए। साथै, बल प्रयोग गर्नु परेमा आवश्यक सन्दर्भमा मात्र, मानव अधिकारको मर्यादा ध्यानमा राखी कदम चाल्न इन्चार्जहरूलाई सचेत गराइएको छ।

यसअघि चैत १५ मा भएको घटनामा प्रहरीको बल प्रयोगको ढिला निर्णय तथा क्षति नियन्त्रणमा चुकको आलोचना भएको थियो। त्यसैले यो पटक त्यस्तो अवस्था दोहोरिन नदिन सुरक्षा निकायहरू सतर्क बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय