
सोलुखुम्बु — जिल्लामा सुरक्षा र समृद्ध व्यवसायिक वातावरण निर्माणका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा एक महत्वपूर्ण परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरको उपस्थितिमा उद्योग वाणिज्य संघ सोलुखुम्बुका पदाधिकारी, होटल व्यवसायी, स्थानीय व्यापारी तथा अन्य व्यवसायिक प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य आपसी विश्वास, सहयोग र समन्वयलाई अझ मजबुत बनाउँदै जिल्लामा व्यवसायिक गतिविधिलाई सुरक्षित र व्यवस्थित बनाउने रहेको थियो। कार्यक्रममा सुरक्षा व्यवस्थापन, व्यवसाय सञ्चालनमा आउने चुनौतीहरू, आपराधिक क्रियाकलापको रोकथाम, प्रहरी-निजी क्षेत्र सहकार्य, पर्यटक सुरक्षा, र समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने उपायहरू विषयमा विस्तृत छलफल भएको थियो।

डिएसपी मनोजित कुँवरले व्यवसायिक समुदायसँग सहकार्य गर्दै सुरक्षित व्यापारिक वातावरण सृजना गर्नु प्रहरीको प्राथमिक जिम्मेवारी रहेको बताए। उनले जनशक्तिको सीमितता र भौगोलिक चुनौतीका बाबजुदसमेत प्रहरी अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा आपसी समन्वयमा सदैव तत्पर रहेको स्पष्ट पारे।
उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले प्रहरी प्रशासनप्रति आभार प्रकट गर्दै व्यवसायीहरूका समस्यामा शीघ्र संलग्न भई सहयोग पुर्याइरहेको भन्दै प्रशंसा गरे। साथै, व्यवसायीहरूले अवैध गतिविधि, चोरी नियन्त्रण, पर्यटकहरूका लागि सुरक्षित वातावरण, र ट्राफिक व्यवस्थापनमा अझ प्रभावकारी कदम चाल्न सुझावसमेत दिए।
कार्यक्रमले प्रहरी र निजी क्षेत्रबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। यस्ता अन्तरक्रिया कार्यक्रमले दुबै पक्षबीच विश्वास र सहकार्यको नयाँ आयाम सुरु गर्ने अपेक्षा गरिएको छ।





