
काठमाडौं — नक्कली भारतीय नोटको कारोबारमा लामो समयदेखि संलग्न युनुस अन्सारी कारागारबाट रिहा भएलगत्तै पुनः प्रहरीले पक्राउ गरेको छ। तर, यो पटकको पक्राउको कारण केवल नयाँ मुद्दा मात्र नभई उनको ज्यानमाथिको गम्भीर खतरा रहेको खुलासा भएको छ।
बारा जिल्लाका स्थायी बासिन्दा तथा पूर्वमन्त्री स्व. सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीले केही वर्षअघि नेशनल टेलिभिजन सञ्चालनको आवरणमा अवैध नक्कली नोट कारोबार गर्दै आएका थिए।

उनी पहिलो पटक २०६६ पुस १३ गते काठमाडौंबाट २५ लाख ४४ हजार ५ सय भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। त्यसपछि उनको संलग्नता २०७० माघ १० मा ३५ लाख, २०७६ असोज ६ मा ४० लाख ११ हजार, र २०७६ जेठ १० मा ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित गरिएको पक्राउमा पनि पुष्टि भइसकेको छ।
अन्तिमपटक उनलाई ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना, र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय तोकिएको थियो। जेठ १० गते शनिबार उक्त सजायको अवधि समाप्त भएपछि उनी ललितपुरको नख्खु कारागारबाट छुटे। तर, अर्को मुद्दा (सम्पत्ति शुद्धीकरण) को अनुसन्धान तथा हत्या खतराका कारण उनलाई तत्कालै प्रहरी नियन्त्रणमा लिइयो।
युनुस अन्सारीमाथि हत्या प्रयास पहिलो पटक २०६७ फागुन २६ गते काठमाडौको जगन्नाथदेवलस्थित केन्द्रीय कारागारभित्रै भएको थियो। उक्त दिन भारतीय नागरिक मनमित सिंह भाटिया (उर्फ जसजित सिंह) ‘साथी भेट्न आएको’ बहानामा भित्रिएर गुप्ताङ्गमा पेस्तोल लुकाएर जेलभित्र छिरेका थिए। भाटियाले युनुसलाई लक्षित गर्दै ६ राउण्ड गोली चलाएका थिए, जसमा पाँच गोली छुटेको र एक गोली उनको दाहिने कुहिनामा लागेको थियो। युनुसको ज्यान बचाउन सफल प्रहरी हवल्दारलाई सम्मान दिइएको थियो भने ड्युटीमा रहेका अन्य प्रहरीहरूलाई हटाइएको थियो। त्यतिबेला जेलरको जिम्मेवारीमा रहेका तत्कालिन उपसचिव तीर्थराज भट्टराई (अहिले त्रिभुवन विमानस्थलको ‘भिजिट भिसा काण्ड’मा मुछिएका) लाई पदमुक्त गरिएको थियो।
हत्या प्रयासका आरोपी भाटियालाई अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो, जुन उनले २०८० असारमा पूरा गरे। तर, नेपालगञ्जको बाटो हुँदै भारत फर्किन लाग्दा उनलाई पुनः बाँकेबाट पक्राउ गरियो। भाटियाले युनुसको हत्या प्रयास गर्नुअघि २०६६ असोज १९ गते नेपालगञ्जस्थित होटल लालीगुराँशमा अवैध कारोबारमा संलग्न अब्जुद मजिद मनिहारको हत्या गरेका थिए। उनी भारतीय गिरोहसँग आवद्ध थिए र सार्पसुटरको रूपमा नेपालमा पठाइएका थिए।
वर्तमान सुरक्षा जोखिम—
प्रहरी स्रोतका अनुसार, युनुस अन्सारीमाथि अझै पनि भारतीय गिरोहबाट ‘मार्ने टास्क’ जारी छ। भारतबाट सार्पसुटरहरू हतियारसहित नेपाल छिर्ने, नावालकको प्रयोगमार्फत हतियार भित्र्याउने, र त्यसपछि निशाना तय गर्ने रणनीति अपनाइने खुलेको छ।
त्यसैले, हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले युनुस अन्सारीलाई सुरक्षाका कारण विशेष निगरानीमा राख्दै अनुसन्धान अघि बढाइरहेको छ।
प्रहरी स्रोतको भनाइमा, “हामीसँग युनुसलाई मार्ने योजना अझै समाप्त भएको छैन भन्ने प्रष्ट सूचना छ, तर हत्याका लागि को को आएको हो र कहाँ लुकेका छन् भन्ने विषय अझै खुलिसकेको छैन।”



