
अछाम – अपराध नियन्त्रण तथा सामाजिक विकृति विरुद्धको अभियानमा अछाम प्रहरीले अभिनव अभ्यास थालेको छ। साइबर सुरक्षा, लैंगिक हिंसा र लागुऔषध दुर्व्यसनबारे समुदायमा सचेतना फैलाउने उद्देश्यले जिल्लाका विद्यालयहरूमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम”अन्तर्गत विशेष कक्षा सञ्चालन गरिन थालिएको छ।
जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीका अनुसार यस अभियान अन्तर्गत अहिले सम्म जिल्लाका १३ वटा विद्यालयका ९३० भन्दा बढी विद्यार्थी र अभिभावक सहभागी भइसकेका छन्। कक्षामा बालबालिका, किशोरकिशोरी, महिलाहरू र अभिभावकलाई लक्षित गरी विभिन्न सामाजिक समस्याहरूबारे जानकारी दिइएको छ।


कक्षाको मूल उद्देश्य—
डीएसपी भण्डारीका अनुसार “समाजमा रहेका विकृति र अपराधका मूल जरा चेतनाको अभाव हुन्।” यसैले, प्रहरी स्वयं विद्यालयमा गएर बालबालिकालाई साइबर अपराध, बालविवाह, बहुविवाह, छाउपडी, आत्महत्या, यौन दुव्र्यवहार, लागुऔषध दुव्र्यसन, सडक सुरक्षाजस्ता गम्भीर विषयमा कानुनी जानकारी दिइरहेका छन्। साथै, आधारभूत मानवअधिकार, असल नागरिक बन्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रेरणा पनि प्रदान गरिन्छ। कक्षा सञ्चालनका क्रममा विद्यार्थी मात्र नभई अभिभावक पनि सहभागी गराइन्छ, जसले पारिवारिक तहमै संवाद र जागरणको वातावरण सिर्जना गरेको प्रहरीको ठम्याइ छ।
अभिभावकत्व र सहकार्यको महत्व—
शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुरेन्द्र बजगाईंले भने, “सामाजिक अपराध र दुर्व्यसन नियन्त्रणका लागि विद्यार्थीलाई केवल विद्यालयको पाठ्यक्रम पढाएर पुग्दैन, उनीहरूलाई असल अभिभावकत्व, आत्मानुशासन र सामाजिक उत्तरदायित्वबारे पनि जानकार बनाउन आवश्यक छ।” उनका अनुसार, यस्ता कक्षाले किशोरावस्थाका विद्यार्थीहरूमा सही दिशा तय गर्न सहयोग पुर्याउँछ, जसको प्रभाव दीर्घकालीन रूपमा देखिन्छ।

डिएसपी भण्डारीको आगामी योजना—
प्रहरीका अनुसार अबको चरणमा अछाम जिल्लाका अन्य १० विद्यालयमा पनि यस्ता सचेतनामूलक कक्षा सञ्चालन गरिने योजना छ। सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विद्यालय प्रशासनसँग पनि सहकार्य बढाउने तयारी भइरहेको छ। अछाम प्रहरीको यो पहल दुर्गम र सीमित स्रोतसाधन भएको जिल्ला हुँदै पनि शान्ति सुरक्षाको क्षेत्रमा समुदाय–प्रहरी साझेदारीको उत्कृष्ट उदाहरण बन्न पुगेको छ। जब प्रहरी शिक्षालयमा पुग्छ, तब कानुन केवल किताबमा सीमित रहँदैन, व्यवहारमा लागू हुने माध्यम पनि बन्छ।
यस किसिमका कार्यक्रमले शिक्षा, सुरक्षा र सामाजिक जागरणलाई एउटै धरातलमा ल्याउँदै भविष्यको समुन्नत समाज निर्माणतर्फ मार्ग प्रशस्त गर्ने देखिन्छ।




