काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले संगठित अपराध नियन्त्रण, पीडितको संरक्षण र पीडकमाथि कडा कानुनी कारवाहीका लागि नेपाल प्रहरी दृढताका साथ अगाडि बढिरहेको स्पष्ट पारेका छन्। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सञ्चारकर्मीहरूसँग आयोजित विशेष साक्षात्कार कार्यक्रममा उनले प्रहरी संगठनको वर्तमान रणनीति, उपलब्धि, चुनौती र भावी योजनाहरूको विस्तृत जानकारी प्रस्तुत गरे।

एसएसपी थापाले प्रहरीको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन र कुनै पनि व्यक्ति प्रहरी कार्यालय पुगेपछि उनीहरूको गुनासो सुनी तुरुन्त सम्बोधन हुने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए। “प्रहरीको प्रमुख जिम्मेवारी भनेको पीडितलाई न्याय दिनु र अपराधीलाई कानूनी कठघरामा ल्याउनु हो,” उनले भने, “यस प्रक्रियामा प्रहरी थप संवेदनशील र जिम्मेवार बन्दै गएको छ।”

उनले बताएअनुसार नेपाल प्रहरीले व्यावसायिकता प्रवर्द्धन गर्न उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गर्दै मनोबल उच्च राख्ने नीति अवलम्बन गरेको छ। प्रहरी संगठन भित्र कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि, स्रोतसाधनको कुशल व्यवस्थापन, आवश्यक ठाउँमा नयाँ इकाईहरूको स्थापनालगायतका विषयहरूमा समेत संगठन गम्भीर रहेको उनले उल्लेख गरे।

एसएसपी थापाले आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको तथ्यांक प्रस्तुत गर्दै विभिन्न अपराधको विश्लेषण गरे। कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, बैंकिङ कसूर, लागूऔषध कारोबार, साइबर अपराध, मानव बेचबिखन, बालबालिकाको खोजतलास तथा घरेलु हिंसा जस्ता संवेदनशील विषयहरूमा प्रहरीको सक्रियता र अनुसन्धान प्रक्रियाको तुलनात्मक जानकारी प्रस्तुत गरिएको थियो।

“अपराधको प्रकृति जटिल बन्दै गएको छ। प्रविधिको प्रयोगले नयाँ चुनौतीहरू ल्याएको छ, जसका लागि हामीले अनुसन्धान र तालिमको दायरा विस्तार गरेका छौं,” उनले स्पष्ट पारे।

अन्तर्राष्ट्रिय समन्वय र प्रहरी–नागरिक सम्बन्ध—

कार्यक्रममा उनले नेपाल प्रहरी अन्तर्राष्ट्रिय अपराध नियन्त्रण सम्बन्धी समन्वयमा पनि सक्रिय रहेको उल्लेख गर्दै एनसीबी (इण्टरपोल) काठमाडौंमार्फत गरिएको कार्यहरूको विवरण प्रस्तुत गरे। साथै, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् प्रतिक्रिया, राजस्व संकलनमा प्रहरीको योगदान, नागरिकसँगको सम्बन्ध सुदृढीकरण र सूचनाको प्रवाहबारे पनि विस्तारमा जानकारी गराए।

उनले तथ्याङ्क प्रस्तुत गर्दै प्रहरीप्रति नागरिकको विश्वास बढ्दै गएको उल्लेख गरे। “नागरिकबाट उजुरी आउने दर बढ्नु भनेको प्रहरीप्रतिको विश्वासको सूचक हो,” एसएसपी थापाले भने।

एसएसपी थापाले प्रहरी संगठन र सञ्चारकर्मीहरूबीचको सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउँदै सञ्चारकर्मीहरूबाट प्राप्त सुझाव र रायलाई संगठनले उच्च मूल्याङ्कन गर्ने बताए। “सूचना प्रवाह र जनउत्तरदायी प्रहरी सेवाका लागि मिडिया एक सशक्त माध्यम हो। हामी सहकार्यलाई अझ प्रगाढ बनाउँदै लैजानेछौं,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय