काठमाडौं ।गृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप लागेपछि उनीमाथि तत्काल कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा औपचारिक निवेदन पेस गरिएको छ। सामाजिक अभियन्ता युवराज सफलले प्रधानमन्त्री कार्यालयमा निवेदन बुझाउँदै गृहमन्त्री लेखकलाई पदबाट तत्काल निलम्बन गर्न माग गरेका हुन्।

सफलद्वारा दर्ता गरिएको निवेदनमा भनिएको छ, “गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहँदासमेत रमेश लेखक भिजिट भिसासम्बन्धी अवैध क्रियाकलापमा संलग्न देखिएका छन्। यसले राज्यको सुरक्षा प्रणाली, अन्तर्राष्ट्रिय सम्बन्ध तथा वैदेशिक विश्वासमाथि गम्भीर असर पुर्‍याउने देखिएकोले उनीमाथि निष्पक्ष छानबिन हुनुपर्छ।”

सफलले गृहमन्त्री लेखकलाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् कानुनी कारबाही अगाडि बढाउन पनि माग गरेका छन्। उनका अनुसार, “गृह मन्त्रालय स्वयं देशको आन्तरिक सुरक्षाको मेरुदण्ड हो। सोही मन्त्रालयको नेतृत्व गरिरहेका व्यक्तिमाथि यस्ता गम्भीर आरोप लाग्नु आफैँमा चिन्ताजनक हो।”

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई न्याय, पारदर्शिता र सुशासनको नाममा तत्काल कदम चाल्न आग्रह गरेका छन्। सफलको भनाइमा, यदि सत्ता निकटकाले यस्ता आरोपमा उन्मुक्ति पाउने हो भने आम नागरिकको न्यायमा विश्वास कमजोर हुनेछ।

यस विषयमा हालसम्म गृहमन्त्री लेखक वा उनको सचिवालयबाट औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि, उक्त प्रकरणबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सम्बन्धित निकायमा चासो बढेको देखिन्छ।

देशको आन्तरिक सुरक्षाका सवालमा सर्वोच्च जवाफदेहिता वहन गर्ने गृहमन्त्रीमाथि सार्वजनिक रूपमा यस्ता गम्भीर आरोप लाग्नु पछिल्लो समयको एक चर्चित विवादका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय