
काठमाडौं, जेठ १२ – राजसंस्थाको पुनःस्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि काठमाडौंमा देशव्यापी आन्दोलनको सुरुवात गर्ने घोषणा गरेको छ। यसै आन्दोलनलाई लक्षित गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकाभरि सुरक्षा सतर्कता कडा बनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी शेखर खनालले आन्दोलनका क्रममा कुनै पनि प्रकारको जनधनको क्षति हुन नदिने गरी सुरक्षा योजना तयार पारिएको जानकारी दिएका छन्। “हामी सुरक्षा योजना बनाएर अगाडि बढ्छौँ, जनधनको क्षति हुन दिँदैनौँ,” खनालले भने, “त्यसदिन आवश्यक जनशक्ति व्यवस्थापन गरिसकेका छौँ। आवश्यकता परे थप जनशक्ति समेत परिचालन गरिनेछ।”

एसएसपी खनालका अनुसार प्रदर्शनका नाममा तोडफोड वा हिंसात्मक गतिविधि हुन नदिनका लागि सुरक्षाकर्मीहरूलाई सजग र संवेदनशील बनाइएको छ। शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न सुरक्षाकर्मीहरूलाई संयमता अपनाउन निर्देशन दिइएको भए पनि, अराजक गतिविधि देखिएमा कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिइएको छ।
प्रहरी स्रोतका अनुसार सादा पोशाकमा समेत सुराकी टोलीहरू परिचालन गरिनेछ भने सम्भावित भिडभाड हुने स्थानहरूमा CCTV निगरानी, चेकिङ पोस्ट र मोबाइल पेट्रोल टोली सक्रिय बनाइनेछ। प्रमुख सार्वजनिक स्थलहरू, सिंहदरबार, बालुवाटार, नारायणहिटी दरबार संग्राहलय वरपरको क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइने जानकारी गराइएको छ।
संयुक्त जनआन्दोलन समितिले भने जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुने दाबी गर्दै नागरिक अधिकारको सवालमा सरकारलाई दबाब दिनु आफ्नो अधिकार भएको जनाएको छ। तर, विगतमा पनि यस्ता प्रदर्शनहरूमा कहिलेकाहीं झडप र तोडफोडको घटना भएकाले सुरक्षाप्रति उच्च सतर्कता अपनाइएको देखिन्छ।
काठमाडौंमा आन्दोलनलाई लिएर जनमानसमा कौतूहल मात्र होइन, केही चिन्ता र जिज्ञासा पनि देखिएको छ। राजधानीमा बसोबास गर्ने सर्वसाधारणले शान्ति, सुरक्षाको प्रत्याभूति चाहिरहेका छन्।



