
काठमाडौं — संघीय राजधानी काठमाडौं देशको राजनीतिक, आर्थिक र सामाजिक केन्द्र हो। यहाँको सुरक्षा व्यवस्थापन गर्नु कुनै सामान्य जिम्मेवारी होइन। यतिखेर यो चुनौतीपूर्ण कमान्डको जिम्मा सम्हालिरहेका छन्, काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारी।
एसएसपी अधिकारीले काठमाडौंको कमान्ड सम्हालेलगत्तै मुलुकमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बन्दा राजधानी तनावग्रस्त बन्यो। प्रदर्शनका क्रममा निजी सम्पत्तिमा तोडफोड, सवारीसाधनमा आगजनी र सुरक्षाकर्मीमाथि आक्रमण जस्ता घटना भए। सयौं प्रदर्शनकारी संलग्न ती घटनामा प्रहरीले उल्लेखनीय संयमता र पेसागत दक्षता प्रदर्शन गर्दै अपराधमा संलग्न सबैलाई पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्यायो।

राजधानीका सडकमा शिक्षक आन्दोलनले समेत तातिएको बेला प्रहरीको भूमिकालाई आमनागरिक र सरोकारवालाहरूले संयमतापूर्ण र जिम्मेवार ठहर गरे। एसएसपी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले हरेक संवेदनशील घटनामा संवेदनशीलता र व्यावसायिकता दुवै कायम राख्दै आएको छ।
व्यावसायिक छवि र पारदर्शी नेतृत्व—
एसएसपी अधिकारी प्रहरी संगठनभित्र उच्च व्यावसायिकता, पारदर्शिता र प्रतिबद्धताका लागि परिचित नाम हुन्। संगठित अपराधदेखि संवेदनशील विरोध प्रदर्शनसम्मका विषयहरूमा उनले कुनै प्रकारको राजनीतिक वा व्यक्तिगत प्रभाव नमान्ने ‘नो कम्प्रोमाइज’को नीति अवलम्बन गर्दै आएका छन्।
उनीसँग काम गरेका प्रहरी अधिकृतहरूका अनुसार, अधिकारी आर्थिक रूपले पूर्ण पारदर्शी छन् र कुनै पनि विवादमा मुछिएका छैनन्। “उनी निष्कलंक र जिम्मेवार अधिकृत हुन्। भ्रष्टाचारप्रति उनले स्पष्ट शून्य सहनशीलताको नीति लिएका छन्,” एक उच्च प्रहरी स्रोतले भने।
एक अधिकारीका अनुसार, एसएसपी अधिकारीले प्रहरी संगठनभित्रै चेतावनी दिएका छन्: “यदि कसैले आर्थिक चलखेलमासंलग्न भएको पाइयो भने म निर्ममतापूर्वक प्रस्तुत हुनेछु।”
संवेदनशीलता र रणनीतिक निगरानी—
वर्तमान समयमा राजधानीमा संविधानविरोधी गतिविधि र अवान्छित समूहहरूको चहलपहल फेरि सक्रिय बन्दै गएको देखिन्छ। एसएसपी अधिकारीले त्यस्ता गतिविधिहरूमा निगरानी थप कडा गर्न महाशाखा, वृत्त र मातहतका कमाण्डहरूलाई स्पष्ट निर्देशन दिएका छन्। उनी राजधानीमा हुने प्रत्येक आन्दोलन, सभा, जुलुस र संगठित कार्यक्रमहरूलाई सुरक्षाको दृष्टिकोणले रणनीतिक रूपमा निगरानीमा राखिरहेका छन्।
उनको नेतृत्वमा काठमाडौं प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने कार्यमा निरन्तरता दिइरहेको छ। “राजधानीमा अपराध र अपराधीसँग सम्झौता हुँदैन,” भन्ने उनी नेतृत्वको नारा जस्तै बनिसकेको छ।
एसएसपी विश्व अधिकारीको नेतृत्वमा राजधानीको सुरक्षा संयन्त्र थप बलियो, व्यवस्थित र जनउत्तरदायी बन्दै गएको छ। उनको नेतृत्वले न केवल अपराध नियन्त्रणमा सफलता पाइरहेको छ, तर प्रहरीप्रतिको जनविश्वाससमेत बलियो बनाउँदै लगेको देखिन्छ।



