
काठमाडौँ —नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (प्र.अ.म.नि.) श्रीमान् राजन अधिकारीज्यूले अपराध अनुसन्धान शाखा अन्तर्गतको कार्यसम्पादनको मूल्याङ्कन तथा निरीक्षण गर्न विशेष भ्रमण गर्नुभएको छ।
उहाँको निरीक्षण भ्रमण कार्यक्रम अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan – CAP IV) को कार्यान्वयन अन्तर्गत गरिएको हो। भ्रमणका क्रममा कार्यालयको भौतिक पूर्वाधार, प्रशासनिक कार्य सञ्चालन, हिरासत कक्षको अवस्था तथा अनुसन्धान प्रक्रियाको प्रभावकारिताबारे विस्तृत अनुगमन गरिएको छ।
निरीक्षणकै क्रममा प्र.अ.म.नि. अधिकारीज्यूले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग घनिष्ठ अन्तरक्रिया गर्दै, अनुसन्धान कार्यमा देखिएका उपलब्धि, चुनौती र सुधारका पक्षबारे जानकारी लिनुका साथै पेशागत अनुशासन, उत्तरदायित्व र निष्ठापूर्वक सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

उहाँले अपराध अनुसन्धान क्षेत्रको मजबुतीकरणका लागि सूचना संकलन, विश्लेषण, प्रविधिको प्रयोग तथा समुदाय–प्रहरी समन्वयलाई सशक्त बनाउने आवश्यकतामाथि प्रकाश पार्दै, प्रहरी सेवाको प्रभावकारिता अझ बढाउन प्रेरणादायी निर्देशन दिनुभएको थियो।
यस निरीक्षण तथा अनुगमन कार्यक्रमले कार्यालयको आन्तरिक व्यवस्थापन सुधार, अनुसन्धान क्षमताको अभिवृद्धि तथा प्रहरी सेवामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ।




