कैलाली — कैलालीको अत्तरियामा सडकमै सुत्केरी भएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गरी नवजात शिशुलाई अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याउने प्रहरी जवान चन्द्रिका देउवा सम्मानित भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले देउवाको मानवीय कार्यको कदर गर्दै उनलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको हो।

उनी अत्तरियास्थित ड्युटीमा खटिएको बेला एक महिलाले आकस्मिक रूपमा सडकमै बच्चा जन्माएकी थिइन्। त्यतिबेला देउवाले तत्काल पहल गर्दै नजिकको स्वास्थ्य संस्थासम्म महिलालाई पुर्‍याइन् र नवजात शिशुको समेत सुरक्षामा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

उनको यस कार्यलाई मानवता र सेवाभावको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ। जिल्ला प्रहरी प्रमुखले देउवाको समर्पणलाई प्रेरणादायी भन्दै अन्य सुरक्षाकर्मीहरूलाई पनि यस्ता सेवामूलक कार्यमा सक्रिय रहन आग्रह गरेका छन्।

प्रहरी जवान चन्द्रिका देउवाले सम्मानप्रति आभार व्यक्त गर्दै जनताको सेवा र सुरक्षामा आफू निरन्तर खटिने प्रतिवद्धता जनाएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय