पोखरा—कास्की जिल्ला प्रहरीले सराङकोटमा व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गर्ने पाइलटहरूमा समेत मादक पदार्थ सेवन (मापसे) तथा लागू औषध सेवन (लापसे) सम्बन्धी कडाइका साथ निगरानी तथा चेकजाँच अभियान सुरु गरेको छ।

पर्यटकीय दृष्टिकोणले अत्यन्त संवेदनशील मानिने सराङकोट क्षेत्रबाट दैनिक सयौं पर्यटकहरूले आकाशमा प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिने गर्दछन्। यस्तो अवस्थामा पाइलटहरू नै मादक पदार्थ वा लागू औषध सेवन गरेर उडानमा जाने हो भने त्यसले ठूलो दुर्घटनाको जोखिम निम्त्याउने हुँदा कास्की प्रहरीको कदम सुरक्षा संवेदनशीलताको हिसाबले निकै सराहनीय मानिएको छ।

प्रहरीका अनुसार हालै गरिएको विशेष चेकजाँचका क्रममा एक जना पाइलट मापसे तथा लापसे गरेको अवस्थामा फेला परेका छन्। उक्त पाइलटलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेपछि थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।

प्रहरी स्रोतका अनुसार चेकजाँचको यो अभियानलाई अब नियमित प्रकृयाको रूपमा अघि बढाइने र पाइलटहरूको स्वास्थ्य परीक्षण, उडान पूर्व मनोवैज्ञानिक स्थिति परीक्षण, र मापसे/लापसेजस्ता गतिविधिमा संलग्न नभएको सुनिश्चित गरिनेछ।

यस अभियानपछि प्याराग्लाइडिङ कम्पनीहरूलाई समेत सचेत गराइएको छ कि यदि उनीहरूका पाइलटहरू मापसे वा लापसेमा संलग्न फेला परेमा कानुनी कारबाहीका साथै व्यवसायिक इजाजतसमेत खारेज गरिनेछ।

कास्की प्रहरीका एक वरिष्ठ अधिकृतले भने, “हामी पर्यटकहरूको ज्यानमाथि खेलवाड गर्न दिने छैनौं। मापसे वा लापसे अवस्थामा आकाशमा उड्ने पाइलटहरूलाई अबदेखि शून्य सहनशीलताको नीति लागू गरिनेछ।”

यस कदमले प्याराग्लाइडिङ उद्योगलाई अझ सुरक्षित, उत्तरदायी र पर्यटकमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय