काठमाडौं –काठमाडौं महानगरपालिकाको मुटुमा अवस्थित, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रूपमा चिनिने स्वयम्भुमा रहेको प्रहरी वृत्त अहिले सकारात्मक परिवर्तनको गतिशील चरणमा छ। नेपाल प्रहरीका काबिल अधिकृत डिएसपी उद्दव सिंह भाटले कार्यालय प्रमुखका रूपमा कार्यभार सम्हालेको जम्मा ६ महिनामै प्रहरीको पुरानो छवि तोड्दै नयाँ विश्वास निर्माण गर्न सफल भएका छन्।

नेपाल प्रहरीका अधिकांश कार्यालयमा देखिने नारामध्ये “सत्य, सेवा, सुरक्षणम्” प्रमुख हो। कतिपय कार्यालयमा त यससँगै अर्को भावनात्मक नारा पनि देखिन्छ— “प्रहरी बर्दीका नागरिक हुन् भने, नागरिक बर्दीबिनाका प्रहरी हुन्।” तर लामो समयदेखि नागरिकहरूमा प्रहरीको व्यवहार मानव अधिकारमैत्री छैन भन्ने गुनासो यथावत थियो। ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको सेवा’ जस्ता नाराहरू व्यवहारमा भन्दा पनि प्रचारमै सीमित रहेको आलोचना हुन्थ्यो।

तर, डिएसपी भाटको आगमनसँगै यो पुरानो सोच बदलिएको छ। उनले पदभार सम्हाल्नासाथ “सत्य, सेवा र सुरक्षणम्” भन्ने नारालाई व्यवहारमा उतार्दै प्रहरीलाई जनमैत्री, उत्तरदायी र पेशागत ढंगले प्रस्तुत गर्न थालेका छन्।

६ महिनामा भएको उल्लेखनीय परिवर्तन:—

१. कार्यालयको भौतिक स्वरूपमा कायापलट:

स्वयम्भु वृत्तको कार्यालय अहिले साफसुग्घर, व्यवस्थित र सहज देखिन्छ। हेल्प डेस्क, प्रतीक्षालय, र उजुरी दर्ता प्रणालीलाई नविन ढंगले पुनःसंरचना गरिएको छ। यसले सेवाग्राहीको पहुँच सजिलो बनाएको छ।

२. जनसहभागिता र सामुदायिक प्रहरी प्रवर्द्धन:-
डिएसपी भाटको नेतृत्वमा स्थानिय बासिन्दा, संघ-संस्था, विद्यालय तथा धार्मिक प्रतिष्ठानहरूसँग नियमित समन्वय भइरहेका छन्। सामुदायिक प्रहरी कार्यक्रम प्रभावकारी बनाउँदै “प्रहरी तपाईंको साथी” भन्ने नारालाई व्यवहारमा देखाइएको छ।

३. अपराध नियन्त्रणमा कडाइ:-

डिएसपी भाटले अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्ने नीति अपनाएका छन्। चोरी, लागूऔषध कारोबार, सवारी चोरी तथा अवैध गतिविधिहरूमा सशक्त निगरानी र कारबाहीका कारण अपराध दरमा कमी आएको वृत्तका अधिकारीहरू बताउँछन्।

४. प्रविधिको उपयोग:—

सिसिटिभी क्यामेरा प्रणालीको विस्तार, डिजिटल मुद्दा दर्ता प्रणाली, र आन्तरिक सूचना प्रवाह प्रणालीलाई चुस्त पारेर प्रहरी कार्य दक्षता वृद्धि गरिएको छ। यसले प्रहरी सेवामा पारदर्शिता र जवाफदेहितालाई अझ मजबुत बनाएको छ।

स्थानीय बासिन्दा कृष्ण तामाङ भन्छन्, “पहिले प्रहरी कार्यालय भन्नेबित्तिकै डर लाग्थ्यो। अहिले त आफूलाई सुरक्षा चाहियो भने प्रहरीकैमा जानुपर्छ भन्ने विश्वास जागेको छ। डिएसपी साब निकै सहयोगी हुनुहुन्छ।”

यसरी, डिएसपी भाटको नेतृत्वले प्रहरी–जनता सम्बन्धलाई न्यानो, विश्वासिलो र सहयोगी बनाउँदै लगेको देखिन्छ।

अनुशासन र निष्ठाको परिचय: डिएसपी उद्दव सिंह भाट

यसअघि पनि विभिन्न जिल्लामा सेवा दिँदै गर्दा डिएसपी भाट अनुशासन र निष्ठाका पर्यायका रूपमा चिनिएका थिए। जनतासँग संवाद गर्न सक्ने नेतृत्व, सहकर्मीमाझ संयम र निर्णय क्षमताका कारण उनी जहाँ गए पनि परिवर्तनको पर्याय बनेका छन्। स्वयम्भु वृत्तमा उनको वर्तमान सेवा कार्यशैलीले काठमाडौं उपत्यकाभित्रकै अनुकरणीय प्रहरी सेवा मोडलको सम्भावना देखाएको छ।

नेतृत्वमा इच्छाशक्ति, कार्यमा पारदर्शिता र व्यवहारमा इमानदारी हुँदा सार्वजनिक सेवा संस्थाहरू कस्तो रूपान्तरण गर्न सक्छन् भन्ने उत्कृष्ट उदाहरण हुन् डिएसपी उद्दव सिंह भाट। यदि यस्तो ऊर्जा र लगनशीलता देशभरका प्रहरी कार्यालयहरूमा लागू गर्न सकियो भने, नागरिक र प्रहरीबीचको दूरी पूर्णतः मेटाउन सकिनेछ।

फोटो फिचर —

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय