विराटनगर, वैशाख ३१ — कोशी प्रदेशमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रदेश प्रहरी प्रमुखसहित १४ वटै जिल्ला प्रहरी प्रमुखहरूलाई प्रभावकारी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन्।

विराटनगरस्थित होटल एसियाटिकमा सम्पन्न सुरक्षा गोष्ठीपश्चात महानिरीक्षक थापाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्की र कोशी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला प्रहरी प्रमुखहरूलाई सम्बोधन गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सक्रिय र नतिजामुखी प्रहरी परिचालन गर्न निर्देशन दिए।

आईजीपी थापाले अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, तस्करी, गुण्डागर्दी, र राजस्व चुहावटजस्ता गतिविधिमा कडाइ गर्न सीमाक्षेत्रमा कडाचेकको व्यवस्था मिलाउन र अपराध अनुसन्धान, फैसला कार्यान्वयन, गुनासो व्यवस्थापन, नागरिक–केन्द्रित सेवा प्रवाह तथा विपद् उद्धारमा प्रहरीलाई निष्पक्ष र निस्वार्थ भावले परिचालन गर्न आग्रह गरे।

उनले नेपाल प्रहरीको कार्य सम्पादन सम्झौताअनुसार रणनीति तयार गरी सरोकारवाला निकायसँग सहकार्य गर्दै आम नागरिकका समस्याहरू समयमै सम्बोधन गर्नसमेत निर्देशन दिएका छन्।

उक्त निर्देशन कार्यक्रमको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, गोविन्द अधिकारी, प्रहरी तालिम केन्द्र विराटनगर, विशेष सुरक्षा गण दुहबी, राजमार्ग तथा सुरक्षा व्यवस्थापन कार्यालय इटहरीका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इकाइमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय