
कोशी प्रदेश — गृह मन्त्रालयले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करी, लागुऔषध ओसारपसार, साइबर अपराधजस्ता सुरक्षाजन्य चुनौतीलाई लिएर कडा कदम चाल्ने संकेत दिएको छ। बुधबार विराटनगरमा सुरु भएको कोशी प्रदेशस्तरीय सुरक्षागोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री रमेश लेखकले गम्भीर चिन्ता व्यक्त गर्दै तस्करी नियन्त्रणमा ३० दिनभित्र अनुभव हुनेगरी एक्सन लिन सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।
गोष्ठीमा गृहमन्त्री लेखकले भने, “तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ र राष्ट्रलाई नकारात्मक असर पारेको छ। अब यो सह्य हुँदैन। तुरुन्त नियन्त्रण गर्नुहोस्, नत्र गृह मन्त्रालय आफैंले अर्को विकल्प रोज्नेछ।”

गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।
‘शान्ति सुरक्षामा सम्झौता हुँदैन’
गृहमन्त्री लेखकले शान्ति सुरक्षाको सवालमा सरकार एक इन्च पनि पछि नहट्ने बताए। उनले स्पष्ट रूपमा भने, “कानुन कार्यान्वयन गर्नु हाम्रो दायित्व हो। शान्ति सुरक्षा विना विकास सम्भव छैन, आर्थिक समृद्धि सम्भव छैन।”
उनले पछिल्लो समय देखिएका नयाँ सुरक्षाजन्य चुनौतीहरूमा विशेष चासो व्यक्त गरे। “लागुऔषध, सवारी दुर्घटना र आत्महत्याजस्ता घटनाहरू गम्भीर चुनौती बनेका छन्,” उनले भने, “प्रत्येक दिन सात जनाको ज्यान सवारी दुर्घटनामा जानु र १७ जनाले आत्महत्या गर्नु सामान्य होइन।”
‘वंश, नाता र हैसियत होइन, अब जनमत र क्षमता’
गृहमन्त्री लेखकले राज्यका सार्वजनिक पदहरूमा वंश, हैसियत वा नातावादका भरमा नियुक्ति हुन नदिने चेतावनी दिए। “प्रमुख जिल्ला अधिकारीको छोरा प्रमुख जिल्ला अधिकारी हुने भए, त्यो गणतन्त्र होइन,” उनले भने, “अबदेखि सार्वजनिक पदमा पुग्न जनमत वा क्षमता अनिवार्य छ।”
‘सुरक्षा चुनौती थपिँदै, राज्य सतर्क रहनुपर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पछिल्लो समय सुरक्षाका चुनौतीहरू झन् जटिल हुँदै गएको बताए। उनले पहिचानका नाममा भइरहेको अभियानले समाजमा द्वन्द्व र अस्थिरता निम्त्याउने खतरा रहेको उल्लेख गरे। साथै उनले पाथीभरा केवलकार परियोजनाको उदाहरण दिँदै विकाससँगै सुरक्षा रणनीति पनि तयार हुनुपर्नेमा जोड दिए।
साइबर क्राइम र अवैध गतिविधि चिन्ताको विषय
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले वर्तमान समयका प्रमुख सुरक्षा चुनौतीहरूबारे बोल्दै साइबर अपराध, लागुऔषध कारोबार, मानव तस्करी र अवैध गतिविधिलाई नियन्त्रणमा ल्याउन राज्य अझ सशक्त रूपमा अघि बढ्नुपर्ने बताए। “व्यवस्थामाथि प्रहार भइरहँदा हामी कमजोर हुन सक्दैनौं,” उनले स्पष्ट पारे।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमार्फत गृहमन्त्री लेखकले राष्ट्रको शान्ति, सुरक्षा र कानुन शासनप्रति सरकारको स्पष्ट अडान सार्वजनिक गरेका छन्। सीमा क्षेत्रमा तस्करीलगायतका अवैध गतिविधिहरू रोक्नका लागि ३० दिनभित्र अनुभूत हुनेगरी कारबाहीको संकेतले अबको केही हप्तामा सुरक्षाको क्षेत्रलाई व्यापक रूपमा परिक्षणमा ल्याउनेछ। अब सुरक्षा निकायको तत्परता र कार्यशैलीले नै सरकारको प्रतिबद्धता सफल वा असफल बनाउनेछ।



