
कैलाली— जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले जनताको चाहनाअनुसार सेवा प्रवाह गर्नका लागि सबैभन्दा पहिले प्रहरी स्वयं सुध्रिनुपर्ने धारणा राखेका छन्। मंगलबार पत्रकारहरूसँगको विशेष भेटघाटमा उनले प्रहरी संगठनभित्र सुधार र पारदर्शितामार्फत जनतासँगको सम्बन्ध अझ सशक्त बनाउने अठोट दोहोर्याए।
एसपी राणाले भने, “जनताले पुलिसले पुलिसकै काम गरोस् भन्ने चाहन्छन्। त्यसैले हामीले प्रहरीको आचरण सुधारमा विशेष ध्यान दिएका छौं। पहिला हामी आफैँ सुध्रन्छौं, त्यसपछि बल्ल जनताले अनुभूति गर्ने सेवा प्रवाह सम्भव हुन्छ।” उनले प्रहरी संगठनभित्र शुद्धिकरण र निष्ठाको संस्कार विकास गर्न आफू प्रतिबद्ध रहेको जनाए।

“राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहन र खराब काम गर्ने प्रहरीलाई कारबाही—यो हाम्रो स्पष्ट नीति हो। कुनै किसिमको समझौता हुँदैन,” उनले भने।
कैलालीको भौगोलिक र सामाजिक विशेषता उल्लेख गर्दै एसपी राणाले जिल्लामा गर्ने कामहरूको चुनौती र सम्भावनाबारे पनि प्रस्ट पारे। “कैलाली राजधानीसँग समेत जोडिएको र भारतसँग करिब १ सय किलोमिटर लामो सीमाना रहेको जिल्ला हो। यहाँको जनसंख्या विविध छ र धेरै जिल्लाबाट आएका मानिसहरूको बसोबास पनि यहीँ छ। त्यसैले तस्करी नियन्त्रण, लागुऔषध नियन्त्रण, अवैध क्रियाकलाप रोकथाम, र जनसुरक्षाको जिम्मेवारी हाम्रो प्रमुख दायित्व हो,” उनले भने।
उनले सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा विशेष रणनीति अपनाइने जानकारी दिए। साथै, जनताको जिउधनको रक्षा र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी नराख्ने बताए।
“मैले ठूलो बाचा गर्न चाहन्न, तर काम गरेर जनतालाई अनुभूति गराउँछु। जनताले हाम्रो राम्रो काम देखून्, महसुस गरून् भन्ने हाम्रो उद्देश्य हो। तपाईंहरू पत्रकार साथीहरूको पनि समर्थन र सहकार्य अपेक्षित छ,” एसपी राणाले थपे।
उनको भनाइ अनुसार, प्रहरी मात्र एक सुरक्षाकर्मी होइन, जनताको सेवक र मित्रका रूपमा कार्य गर्नुपर्नेछ। उनले प्रहरी संगठनलाई सेवा, शुद्धता र सच्चाइको मूलमन्त्रमा आधारित संस्थाका रूपमा अघि बढाउने दृढता व्यक्त गरे।
एसपी राणाको यस्तो दृष्टिकोणले कैलाली जिल्लामा जनप्रशासन र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।



