कोहलपुर —इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालको आगमनसँगै नगर क्षेत्रमा एक सकारात्मक परिवर्तन देखिन थालेको छ। उहाँको कुशल नेतृत्व र दूरदर्शी सोचका कारण कोहलपुर अब ट्राफिक अनुशासन, सडक सुरक्षा र अपराध नियन्त्रणतर्फ सशक्त रूपमा अग्रसर हुँदै गएको छ।

डीएसपी खनालको विशेष पहलमा विगत केही सातादेखि दैनिक बिहान ६ देखि ८ बजेसम्म ट्राफिक चेकिङ अभियान सञ्चालनमा आएको छ। नेपालगञ्ज–कोहलपुर–सुर्खेत मुख्य राजमार्ग अन्तर्गत इलाका प्रहरी कार्यालय अगाडिको सडक खण्डमा हुने यो अभियानमा ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित हुने गरेको छ।

अभियानअन्तर्गत हेलमेट नलगाउने, सवारी कागजात नभएका, बीमा नविकरण नगरेका, मदिरा सेवन गरी सवारी चलाउने तथा अन्य लापरवाह सवारी चालकहरूलाई कडाइका साथ निगरानी र कारबाही गरिँदै आएको छ। सुरक्षाको हिसाबले संवेदनशील मानिने कोहलपुर क्षेत्रमा बिहानको समयमै प्रहरीको सक्रिय उपस्थिति र नियमनले स्थानीयवासीमा सुरक्षाको अनुभूति दिलाएको छ।

सडक दुर्घटना र आपराधिक गतिविधिमा गिरावट

स्थानीयवासीहरूका अनुसार यस अभियानले सवारी अनुशासन मात्र नभई सडक दुर्घटनाको दरमा समेत कमी ल्याएको छ। साथै, बिहानै सुरक्षाकर्मीको उपस्थिति रहँदा चोरी, डकैती तथा लागुऔषध कारोबार जस्ता आपराधिक क्रियाकलापहरू पनि नियन्त्रणमा आइरहेका छन्।

कोहलपुरका व्यवसायी सन्तोष खत्री भन्छन्, “केही समय अघिसम्म यहाँ बिहान बेलुकाको यात्रा निकै असुरक्षित महसुस हुन्थ्यो। तर अहिले प्रहरी सक्रियता देखेर हामी ढुक्क भएका छौं। दुर्घटनाको डर कम भएको छ, र व्यवसायमा पनि सहजता आएको छ।”

जनताको विश्वास जित्ने अभियान

डीएसपी लक्ष्मी खनाल स्वयं सक्रिय रूपमा अभियानको अनुगमनमा जुट्नुहुन्छ। उहाँ भन्छन्, “हाम्रो उद्देश्य केवल नियम लागू गर्नु मात्र होइन, जनतामा सुरक्षाको अनुभूति गराउनु हो। ट्राफिक अनुशासन कायम राख्न सके अपराध नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक सुशासन स्वतः सुनिश्चित हुन्छ भन्ने विश्वासका साथ हामी यो अभियानमा होमिएका हौं।”

स्थानीय तह र नागरिक समाजको सहयोग

उक्त अभियानलाई कोहलपुर नगरपालिका, स्थानीय सामाजिक संस्था तथा नागरिक समाजबाट समेत उल्लेखनीय सहयोग प्राप्त भइरहेको छ। विद्यालय, कलेज, युवा क्लब तथा ट्राफिक सचेतना समूहहरू समेत प्रहरीको अभियानमा प्रत्यक्ष वा परोक्ष रूपले जोडिन थालेका छन्।

नयाँ अनुशासनको अभ्यास, नयाँ कोहलपुरको संकेत

कोहलपुरजस्तो व्यस्त सहरमा ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रण कठिन विषय हो। तर डीएसपी खनालको नेतृत्वमा सुरुआत भएको यस अभियानले अनुशासन, उत्तरदायित्व र निष्ठाको सन्देश दिँदै गएको छ।

यस्ता अभियानी प्रयासहरूले न केवल प्रहरीले जनताको विश्वास जित्ने वातावरण बनाउँछन्, तर समाजमा समृद्ध, सुरक्षित र समावेशी परिवर्तन ल्याउने दिशामा पनि मार्गदर्शन गर्छन्। कोहलपुर अहिले अनुशासन र सुरक्षाको नयाँ अभ्यासमा होमिएको छ — जुन दीर्घकालीन रूपमा समग्र बाँके जिल्लाको उदाहरणीय मोडेल बन्ने संकेत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय