बाँके, नेपालगञ्ज — बाँके जिल्लामा हालै कार्यभार सम्हालेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीले आफ्नो नेतृत्वको सुरुवात जनसञ्चारसँग संवाद गर्दै गरेका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय, बाँकेमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा एसपी घर्तीले आफ्नो कार्ययोजना, दृष्टिकोण र प्रतिबद्धता स्पष्ट रूपमा प्रस्तुत गरे।

कार्यक्रममा एसपी घर्तीले कानूनको शासनलाई बलियो बनाउने, लागुऔषधको ओसारपसार, चोरि-निकासी, तस्करी र गुण्डागर्दीलाई जरोसमेत हटाउने दृढता व्यक्त गरे। “अब बाँके अपराधमुक्त समाजको नमुना बन्नेछ। कानूनी राज्य, पारदर्शिता, अनुशासन र जनताको साथ हाम्रो प्रमुख मन्त्र हुनेछ,” उनले सम्बोधनमा भने।

पत्रकारहरूसँगको संवादमा उनले आफू ‘खुला ढोका नीतिमा’ विश्वास गर्ने जनाउँदै भने, “सञ्चारकर्मीहरू प्रहरीको ऐना हुन्। तपाईंहरूका सुझाव, आलोचना र प्रश्नहरूले हामीलाई अझ जिम्मेवार र उत्तरदायी बनाउँछ।”

उनले पत्रकारिता र प्रहरी सेवा बीच पारदर्शिता, जानकारीको सहज प्रवाह, र समन्वयका लागि नियमित संवाद र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

जनसुरक्षा र सुशासनमा नयाँ गति—

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका सम्पादक, पत्रकार तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो। सहभागी पत्रकारहरूले जिल्लाको सुरक्षा अवस्था, सूचना आदान–प्रदान, प्रेस–प्रहरी सम्बन्ध सुदृढ बनाउने विषयमा आ–आफ्ना धारणा राखे।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। सहभागीहरूको विश्वास छ—एसपी घर्तीको आगमनसँगै बाँकेमा जनसुरक्षा र सुशासनमा नयाँ गति आउनेछ। अपराध नियन्त्रण मात्र होइन, जनतामुखी र उत्तरदायी प्रहरी सेवाको अभ्यासले जिल्लामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

“बाँके अब अपराधको गढ होइन, नमुना शान्तिको केन्द्र बन्नेछ” — एसपी घर्ती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय