
काठमाडौं, वैशाख २८ – सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको आरोपमा नेपाली सेनाका पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
नेपाली सेनाको आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) अनुसार सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चारजना व्यक्तिहरू—सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का, सेनानी (मेजर) बोधराज कार्की, जमदार आत्माराम थापा र अर्का एक अधिकारी—ले सवा २ करोड रुपैयाँ हिनामिना गरेको निष्कर्ष निकालिएको थियो।

बहालवाला दुई अधिकारी—सहायक रथी खड्का र सेनानी कार्कीलाई सेनाले आफ्नै हिरासतमा राखेर छानबिन गरिरहेको छ भने उनीहरूविरुद्ध कोर्ट मार्सलको प्रक्रिया अगाडि बढाइएको छ। सैनिक ऐनअनुसार अवकाशप्राप्त व्यक्तिहरूमा लागू नपर्ने भएकाले पूर्व जमदार आत्माराम थापा र अर्का एक अधिकारीमाथिको मुद्दा प्रहरीमार्फत अगाडि बढाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि आत्माराम थापालाई पक्राउ गरिएको छ, तर अर्का अवकाशप्राप्त अधिकारी भने हाल अमेरिका पुगेको जानकारी प्राप्त भएको छ।



