
काठमाण्डौं—इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा कार्यरत महिला प्रहरी कर्मचारीहरूसँग आज एक अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य महिला प्रहरी कर्मचारीहरूले कार्यस्थलमा भोगिरहेका विभिन्न गुनासा, पिरमर्का, चुनौतीहरू तथा सेवा अवधिभरका सिकाइ र सकारात्मक अनुभवहरूलाई साझा गर्नु रहेको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर तथा मातहतका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत महिला प्रहरीहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले आफूले दैनिक कार्यसम्पादनका क्रममा भोगेका व्यवहारिक कठिनाइ, सामाजिक दृष्टिकोणबाट आउने चुनौती, सेवा क्षेत्रमा प्राप्त सहयोग र सहकार्यका अनुभवहरू खुलस्त रूपमा प्रस्तुत गरेका थिए।
महिला प्रहरीहरूको हौसला अभिवृद्धि गर्न तथा उनीहरूको कार्यक्षमता, आत्मविश्वास र प्रेरणालाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको यो अन्तरक्रियाले सहभागिहरूमा सकारात्मक ऊर्जा थपेको प्रतिक्रिया आएको छ।
कार्यक्रमको समापन गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले महिला प्रहरीहरूको भूमिकालाई सशक्त, संवेदनशील र प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले महिला प्रहरीहरूलाई मनोवैज्ञानिक रूपमा अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै, आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमले प्रहरी संगठनभित्र लैङ्गिक समानता र समावेशी अभ्यासको सुदृढीकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।




