
भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणमा परी एक जना नेपाली नागरिकसहित २६ जनाको ज्यान गएपछि भारतले बदला स्वरूप २०८२ साल बैशाख २३ गते (May 6, 2025) रातिदेखि पाकिस्तान नियन्त्रित कश्मीरमा ५ स्थान र पाकिस्तानको भूमिमै ४ स्थान गरी कुल ९ स्थानमा हवाई आक्रमण (एयर स्ट्राइक) गरेको छ। भारतको सो आक्रमणमा जैश-ए-मोहम्मदका एक कमाण्डर मसूद अजहरका परिवारका १० जना सदस्यको मृत्यु भएको पुष्टि उक्त आतंकी समूहले स्वयं गरेको छ। पाकिस्तान सरकारले पनि ३१ जनाको मृत्यु र ५७ जना घाइते भएको स्वीकार गर्दै, आफ्ना सार्वभौम सीमामाथिको आक्रमणको उचित जवाफ दिने बताएको छ।
त्यसको प्रत्युत्तरस्वरूप पाकिस्तानले गएराति बिहीबार भारतको जम्मुस्थित अखनूर, साम्बा, कठुवा लगायतका स्थानहरूमा आक्रमण गर्नुका साथै जम्मु, पठानकोट र उधमपुरमा रहेको सैनिक केन्द्रहरूमा ड्रोन हमला गरेको दाबी भारतले गरेको छ। यद्यपि ती ड्रोनहरूलाई निष्क्रिय पारिएको पनि भारतको दाबी छ। यी घटनाहरूले भारत–पाकिस्तान युद्ध भयावह हुने संकेत दिइरहेका छन्।

भारत–पाकिस्तान युद्धले नेपालमा पार्न सक्ने असरहरू
१) आर्थिक असर:
• भारतसँगको व्यापार अवरुद्ध हुनसक्ने हुँदा अत्यावश्यक वस्तुहरूको अभाव र मूल्यवृद्धि हुने सम्भावना रहन्छ।
• आपूर्ति शृंखला प्रभावित हुने जोखिम छ, विशेषतः इन्धन, औषधि र खाद्यान्न जस्ता वस्तुहरूमा।
२) सामाजिक असर:
• भारतमा रोजगारी गरिरहेका नेपालीहरू प्रभावित भई रेमिट्यान्स घट्न सक्छ।
• सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनतामा असुरक्षा बढ्न सक्छ।
३) भूराजनीतिक असर:
• भारतसँग विशेष सम्बन्ध कायम राख्नुपर्ने, तर तटस्थता पनि जोगाउनुपर्ने नेपालका लागि कूटनीतिक सन्तुलन चुनौतीपूर्ण हुनेछ।
• अन्तर्राष्ट्रिय शक्तिहरूको ध्यान दक्षिण एसियामा केन्द्रित हुँदा नेपालले अवसर र दबाब दुबै भोग्न सक्छ।
४) सुरक्षा चुनौती:
• पाकिस्तानतर्फ द्वन्द्व चर्किएमा भारतका केही मुस्लिम समुदायले असुरक्षा महसुस गरी नेपालतर्फ शरण लिन सक्ने जोखिम रहन्छ, खुला सिमानाका कारण।
• सीमामा निगरानी कडाइ हुनसक्छ, जसले आवागमनमा अवरोध ल्याउन सक्छ।
भारत–पाकिस्तान युद्धको सम्भावित जोखिमबाट नेपाललाई जोगाउने उपायहरू:
१) तटस्थता र कूटनीतिक सन्तुलन:
• तटस्थ परराष्ट्र नीतिलाई बलियो बनाउँदै क्षेत्रीय शान्ति र संवादको पक्षमा संयुक्त राष्ट्रसंघ, सार्क आदि मञ्चमा सक्रिय भूमिका खेल्नुपर्छ।
२) सीमा सुरक्षा र व्यवस्थापन:
• खुला सिमानाको निगरानी कडा गर्दै शरणार्थी व्यवस्थापनका लागि अस्थायी सुरक्षा चौकीहरू स्थापना गर्नुपर्छ।
३) आपूर्ति प्रणालीको बहुविकल्पीकरण:
• चीन, बंगलादेश लगायत तेस्रो मुलुकसँग व्यापार विस्तार गर्दै आपूर्ति विविधीकरण गर्नुपर्छ।
• राष्ट्रिय भण्डारण (इन्धन, औषधि, खाद्यान्न) प्रणाली सुधार गर्नुपर्छ।
४) आन्तरिक सुरक्षा तयारी:
• संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै विपद् व्यवस्थापन अभ्यास र समन्वय योजना कार्यान्वयन गर्नुपर्छ।
५) सार्वजनिक सूचना र सञ्चार संयन्त्र:
• आमजनतालाई सत्य सूचना दिन सरकारी सञ्चार माध्यमहरू प्रयोग गर्नुपर्छ।
• अफवाह नियन्त्रण गरी जनमानसमा विश्वास पैदा गर्नुपर्छ।
६) कूटनीतिक सक्रियता र बहुपक्षीय समन्वय:
• भारत र पाकिस्तान दुवैसँग संवाद कायम राखी शान्तिपूर्ण समाधानमा सहजीकरण गर्नुपर्छ।
• क्षेत्रीय शक्तिहरूसँग मिलेर शान्ति स्थापनाका लागि रणनीतिक समन्वय गर्नुपर्छ।
भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्र हुन्। भारत संसारकै चौथो ठूलो सैन्य शक्ति भएकोले पाकिस्तानले लामाे युद्धमा टिक्न गाह्रो छ। त्यस अवस्थामा पाकिस्तानले अन्ततः आणविक हतियार प्रयोग गर्नेसम्मको जोखिम रहन्छ, जुन कार्यले सम्पूर्ण क्षेत्र र विश्वलाई नै संकटमा पार्न सक्छ।
यस्तो परिस्थितिमा चीनजस्तो क्षेत्रीय शक्ति र सार्कको अध्यक्ष राष्ट्र नेपालले आफ्नो भूमिका निभाउनु अत्यावश्यक छ। बुद्ध जन्मभूमिको हैसियतले नेपालले युद्ध अन्त्यको सन्देश दिन सक्छ। अमेरिका र रुसजस्ता विश्वशक्ति राष्ट्रहरूले पनि युद्धलाइ सामान्य नजरले हेरेर लम्ब्याउने हो भने त्यो मानवता विरुद्धको अपराध हुनेछ।
त्यसैले, आतंकवादी हमलाको दोषीलाई कानूनी कठघरामा उभ्याउने दिशामा पाकिस्तानले सहयोग गर्नुपर्छ, र भारतले पनि दबाब सिर्जना गर्ने रणनीति अपनाउनुपर्छ। आतंकको जवाफ युद्ध होइन, कानूनी र कूटनीतिक माध्यमबाट खोजिनु नै अहिलेको सर्वश्रेष्ठ विकल्प हो।
– लेखक: गोविन्द पन्थी पूर्व डीएसपी, हाल अधिवक्ता हुनहुन्छ ।



