
धनगढी—सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) डम्बर बहादुर बि.क. ज्यूले आज मिति २०८२ साल बैशाख २६ गते सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको औपचारिक निरीक्षण भ्रमण गर्नु भयो। सो अवसरमा डिआइजी बि.क. ज्यूले गणको कार्यालय परिसरभित्र रहेका विभिन्न शाखाहरू, क्वाटर गार्ड, ब्यारेक, मेस लगायतका भौतिक संरचनाहरूको अवलोकन गर्नुका साथै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष संवाद समेत गर्नुभयो।
उहाँले निरीक्षणका क्रममा समस्त प्रहरी कर्मचारीहरूलाई राष्ट्र र जनताको सेवामा उच्च आदर्श र जिम्मेवारीका साथ समर्पित भई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले प्रहरी सेवामा आपसी सद्भाव, सामूहिक भावना, अनुशासन र व्यावसायिक निष्ठा अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले असल आचरणमार्फत उदाहरणीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

साथै, उहाँले सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी संगठनको नीति विपरीतका गतिविधिमा संलग्न नहुन विशेष चेतावनी दिनुभयो। गैह्र व्यवसायिक आर्थिक गतिविधिहरूमा संलग्न हुनु, संगठनको गरिमा विपरीतका आचरण गर्नु, वा प्रहरी अनुशासन उल्लंघन गर्ने कुनै पनि कार्यहरूमा संलग्न भएमा कडा कारबाही हुने स्पष्ट पार्नुभयो।
बल प्रयोग गर्दा मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्नुपर्ने कुरा स्मरण गराउँदै, उहाँले सबै प्रहरी कर्मचारीहरूलाई पेशागत इमान्दारिता, अनुशासन र कर्तव्यपरायणताका साथ सेवा प्रवाह गर्न प्रेरित गर्नुभयो। साथै, शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलित राख्दै व्यक्तिगत तथा व्यावसायिक समस्याहरूलाई संगठनले निर्धारण गरेको विधि र प्रक्रिया अनुसार समाधान गरिने विश्वास दिलाउनुभयो।
उक्त निरीक्षण तथा निर्देशन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरू, गण प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, अन्य वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू र प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



