काठमाण्डौं—पाकिस्तान र भारतबीच कहिल्यै नटुङ्गिने सीमा विवाद र तनावले कहिलेकाहीँ हिंसात्मक रूप लिन्छ। पाकिस्तानले १०/२० जना भारतीय मार्छ, भारतले प्रत्युत्तरमा २०/३० जना पाकिस्तानी मार्छ। यतिमा नै घटना सीमित हुन्छ, अनि फेरि केही समय शान्ति। यस्तो चक्र बारम्बार दोहोरिन्छ। तर, वास्तविक युद्धको रूप लिँदैन। कारण स्पष्ट छ—यी दुवै देश महाशक्तिका रूपमा उदाएका छन्, जहाँ युद्धको विकल्प विनाश मात्रै हो।

भारत र पाकिस्तान दुबैलाई थाहा छ कि पूर्ण युद्ध भयो भने कोही विजेता रहनेछैन, केवल बर्बादी हुनेछ। त्यसैले ‘युद्धको हाउगुजी’ मात्रै चल्छ, वास्तविक युद्ध सम्भव नहुने रणनीतिक यथार्थ हो। यसैले हामी सबैले युद्धको भ्रमबाट टाढा रहनुपर्छ, विशेषगरी जनताले।

यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक रूपमा चतुर मानिन्छन्। उनले आफ्नो सेना सुरक्षित राख्ने रणनीति बनाउँछन्, तर अग्रपङ्क्तिमा पठाइन्छ गोर्खालीहरूलाई। गोर्खाली बलिया छन् भनेर मात्र हैन, उनीहरू परदेशी हुन्—उनको मृत्युले भारतको राजनीतिक गणनामा त्यति ठूलो प्रभाव पार्दैन। यो नितान्त कटु यथार्थ हो।

विडम्बना, नेपाली युवाहरूलाई आफ्नै देशमा सम्मानजनक रोजगारीको अभावले विदेशमा बन्दुक बोकेर लड्नुपर्ने बाध्यता छ। उनीहरू पैसाको निम्ति अरूको युद्धमा लड्छन्, मर्छन् र कहिलेकाहीँ बेनाम रहन्छन्। यो केवल व्यक्तिगत पीडा हैन, यो राष्ट्रिय नियति हो—जहाँ स्वाभिमान भन्दा पेट ठूलो हुन्छ।

यो कथन केवल युद्ध विरोधको आवाज हैन, यो चेतनाको आह्वान हो—जहाँ नेपाली युवा आफ्नो देशमै भविष्य खोज्न सकून्, विदेशी युद्धमा बलिदान नभएर आफ्नै समाज निर्माणमा लाग्न सकून्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय