काठमाडौं — सडक विभागले नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत सवारी साधनहरूमाथि ५० देखि ५ सय रुपैयाँसम्म शुल्क लिन प्रस्ताव गरेको छ। विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनमै उक्त मस्यौदा पारित गर्ने तयारी गरिरहेको मन्त्रालयका सहसचिव तथा विभागका प्रवक्ता अर्जुन अर्यालले जानकारी दिए। उनका अनुसार सुरुङमार्गबाट आगामी दशैंसम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको छ।

नागढुंगा सुरुङमार्ग आयोजनाले तोकिएको म्याद २०८२ असोजसम्म निर्माण सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिसक्ने जनाएको छ। प्रवक्ता अर्यालले भने, “ठेकेदार कम्पनीले तोकिएको म्यादभित्रै आयोजना हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ। सुरुङमार्ग हस्तान्तरण भएपछि तुरुन्तै सञ्चालनमा ल्याइनेछ।”

महाशाखाका एक कर्मचारीका अनुसार सुरुङ प्रवेश गर्नुअघि सवारी साधनले श्रेणीअनुसार शुल्क तिर्नुपर्नेछ। प्रस्ताव अनुसार, साना चारपांग्रे सवारीका लागि ५० रुपैयाँ, बसका लागि २०० रुपैयाँ र १२–१४ चक्के ठूला ट्रकका लागि ५०० रुपैयाँसम्म शुल्क लाग्नेछ।

मोटरसाइकल र पेट्रोल तथा डिजेल बोकेका प्रज्वलनशील सवारी साधनलाई भने सुरुङमार्ग प्रवेशमा निषेध गरिएको छ। यदि मोटरसाइकल प्रवेश गर्न आवश्यक परे, गाडीमा राखेर ओसारपसार गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। सुरुङमार्ग प्रयोग गरेर फर्कने सवारीलाई फरक शुल्क लाग्ने व्यवस्था पनि कार्यविधिको मस्यौदामा समावेश गरिएको छ।

मस्यौदामा सुरुङमार्ग सञ्चालनको मोडेल, सञ्चालन प्रक्रिया र अन्य व्यवस्थापनबारे विस्तृत व्याख्या गरिएको छ। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपालमै पहिलोपटक प्रयोगमा आउन लागेको सुरुङमार्ग भएकाले कार्यविधि निर्माणमा ढिलाइ भएको हो।

शुल्क उठाउने अधिकार कसलाई दिने भन्ने विषय अझै टुंगो लागिसकेको छैन। विभागका एक कर्मचारीले टेन्डरमार्फत निजी क्षेत्रलाई जिम्मा दिने प्रस्ताव तयार पार्ने प्रक्रिया जारी रहेको बताए।

शुल्क उठाउने निकायले नै सुरुङमार्गभित्र अक्सिजन, आगो नियन्त्रण, सुरक्षा, सञ्चार लगायतका सेवा तथा बिजुली व्यवस्थापनको जिम्मा लिनेछ। मन्त्रालयका एक अधिकारीले भने, “यो नेपालका लागि पहिलो अनुभव भएकाले केही समय लाग्यो, तर यसबाट सिकेर आगामी सुरुङमार्ग निर्माण र सञ्चालनमा सजिलो हुनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय