
कैलाली, २०८२ वैशाख २२ –कैलाली जिल्लामा प्रहरी नेतृत्वमा फेरबदल भएको छ। प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सरुवासँगै, नव नियुक्त प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड सम्हाल्नुभएको छ।
हालै मात्र सरुवा भएर कैलाली आएका एसपी राणाले एक औपचारिक समारोहबीच पदभार ग्रहण गर्नुभएको हो। कार्यक्रममा निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकी, प्रवक्ता प्र.ना.उ. राजकुमार सिंह, सीनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी सदस्यहरूको उपस्थिति रहेको थियो। फूलमाला, खादा र आत्मीय सम्मानका साथ एसपी राणाको स्वागत गरिएको थियो।

कार्यक्रममा एसपी राणाले आफू जनतामैत्री, पारदर्शी र कडाइका साथ कार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “कैलाली सुदूरपश्चिमको राजधानी भएकाले यस जिल्लालाई हरेक हिसाबले नमूना बनाउन म उत्कृष्ट प्रयास गर्नेछु।हामी नागरिकका प्रहरी हौं भन्ने अनुभूति प्रत्येक जनतालाई हुने वातावरण बनाइनेछ।”
बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसन र जघन्य अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने उल्लेख गर्दै, उहाँले शान्ति सुरक्षाको सवालमा शून्य सहनशीलता अपनाइने र त्यसका लागि सबैको सहयोग अपेक्षित रहेको बताउनुभयो।
एसपी राणाको नेतृत्वमा कैलालीमा नयाँ ऊर्जा र विश्वाससहितको प्रहरी सेवा सञ्चालन हुने आशा गरिएको छ।




