काठमाण्डौं— हालै जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँको मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८२/०१/१५ को निर्णयअनुसार, उनले बागलुङ पुगेर औपचारिक रूपमा कार्यालयको जिम्मेवारी सम्हालेका हुन्।

एसपी भारतीलाई नेपाल प्रहरी अपराध अनुसन्धान विभागबाट सरुवा गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाइएको हो। कार्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा मातहतमा कार्यरत प्रहरी अधिकृत, जवानहरू, अन्य कर्मचारी, र समुदायसँग समन्वयमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पदभार ग्रहण समारोहमा बोल्दै एसपी भारतीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, आपराधिक गतिविधिमा नियन्त्रण ल्याउन र समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउन प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले निष्पक्षता, पारदर्शिता र अनुशासनलाई प्रहरी संगठनको मेरुदण्डका रूपमा व्याख्या गर्दै, बागलुङवासीको विश्वास जित्ने गरी सेवा दिन आग्रह गरे।

स्वागत कार्यक्रममा प्रहरी अधिकृतहरूबाट नयाँ प्रमुखप्रति सहयोग र समर्थन रहने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रमको समापनमा फूलमाला अर्पण, मिठाइ वितरण र सामूहिक तस्वीर खिचिंदै आत्मीय वातावरणमा सम्पन्न भएको थियो।

एसपी तिलक भारती पूर्वका विभिन्न जिल्लाहरूमा सेवा दिइसकेका अनुभवी प्रहरी अधिकृत हुन्। अब बागलुङमा उनको अनुभव र नेतृत्वले शान्ति सुरक्षा कायम गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय