
सुरक्षा सरोकार / दिपक राज जोशी — एक गरिब परिवारमा जन्मिएर बुबाको माया र साथ नपाई आमाकै काखमा हुर्किएको एउटा बालक जब जीवनका अनेकौं कठिनाइहरू पार गर्दै मास्टर डिग्रीसम्मको पढाइ पूरा गर्छ र नेपाल प्रहरीको इन्स्पेक्टर बन्न सफल हुन्छ, त्यो केवल व्यक्तिगत सफलता मात्र होइन—सम्पूर्ण समाजका लागि एउटा प्रेरणाको प्रतीक बन्छ।
“हरेक सफल व्यक्तिको जीवनमा संघर्ष लुकेको हुन्छ” भन्ने भनाइलाई सजीव रूपमा साकार बनाएका उदाहरण हुन् – नेपाल प्रहरीका इन्स्पेक्टर विक्रान्त तामाङ। आज उनी देशसेवामा समर्पित प्रहरी अधिकृतको रूपमा कार्यरत छन्, तर उनका जीवनका अध्यायहरू आँखामा आँसु ल्याउने खालका छन्।


२०५१ सालमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ मा जन्मिएका तामाङले ८ महिनाको उमेरमै पितृवियोगको पीडा भोगे। “बुबा” भन्ने शब्द उच्चारण गर्न नपाउँदै बुबा गुमाउनु उनका लागि पहिलो गहिरो चोट थियो। त्यसपछि सुरु भयो आमाकै माया, त्याग र बलिदानमा अडिएको कठोर जीवन यात्रा।
सामान्य किसान आमाको कमाइले मात्र घर धान्न कठिन थियो, तर उनले छोरा पढाउन कहिल्यै पछि हटिनन्। विक्रान्तकोप्रारम्भिक शिक्षा गाउँकै श्री जलदेवी माध्यमिक विद्यालय, जुगल–७, सिन्धुपाल्चोकबाट सुरु भयो। कहिले टालटुल लगाएकालुगा, कहिले झोलाको चुँडिएको तुना बाँध्दै स्कुल जानुपर्ने अवस्था थियो। किताब किन्न आमाले खेतिपातीबाट भएकोआम्दानी र भेडाबाख्रा बेच्ने गर्थिन्—त्यो ममताले भरिएको संघर्ष नै विक्रान्तका लागि जीवन अगाडि बढाउने ऊर्जा बन्यो।

एसएलसीपछि आर्थिक अभावका कारण कक्षा ११–१२ को शुल्क तिर्न नसक्दा उनले आफैँ पढेको श्री जलदेवी माध्यमिक विद्यालयमा तीन वर्षसम्म शिक्षकको रूपमा काम गरे। प्लस टु र ब्याचलर अध्ययन गाउँकै नजिक रहेको जलवीरे भ्याली क्याम्पसबाट सम्पन्न गरे। त्यहीबीच उनले काठमाडौंको यात्रा गरे र आफूले पढाइ नछोड्ने अठोट गर्दै अगाडि बढे।
विक्रान्तले १२ पास गर्नासाथ पहिलो प्रयासमै २०७२ सालमा प्रहरी सहायक निरीक्षक (ASI) पदबाट आफ्नो सेवा आरम्भ गरे।जागिरकै दौरानमा उनले ब्याचलर र समाजशास्त्रमा स्नातकोत्तर (Master’s) तहसम्मको पढाइ स्कूलदेखि कलेजसम्म निरन्तरप्रथम स्थान हासिल गर्दै सम्पन्न गरे।
त्यही समयदेखि सुरु भयो कर्तव्य, अनुशासन र समय व्यवस्थापनको अर्को कठिन अध्याय। उनी काठमाडौंको व्यस्त ट्राफिक व्यवस्थापनमा खटिन्थे—जहाँ दिनभरको घाम, धुलो, जाम र जन दबाबसँग जुध्दै ड्युटी गर्नु र साँझ थकाइले चुर हुने दिनचर्या थियो।
२०७८ सालमा उनले पहिलो पटक प्रहरी निरीक्षक पदका लागि लोकसेवा परीक्षा दिए। परीक्षा उत्तीर्ण गरे तापनि दुर्भाग्यवश सिफारिस हुन सकेनन्। तर त्यो असफलता अन्त्य थिएन—त्यो त नयाँ सुरुवातको आधार बन्यो।
पढाइमा बाल्यकालदेखि नै गहिरो रुचि भएका विक्रान्त तामाङ आर्थिक अभाव र पारिवारिक कठिनाइबीच पनि आफ्नो लक्ष्यमा अडिग रहे। बाबाको माया नपाई आमाको त्याग र ममतामा हुर्किएका उनले स्कुलमा पढाउने काम गरेर खर्च जुटाउँदैउच्च शिक्षासम्मको यात्रा पुरा गरे। जागिरकै क्रममा पनि पढाइप्रति उनको लगाव उस्तै रह्यो—ट्राफिक पोस्टमा ड्युटी गर्दागर्दै किताब पढ्ने बानी उनले कहिल्यै छोडेनन्। अवसरको खोजीमा उनी अझै गहिरो प्रयासमा लागे। ड्युटीको छोटो फुर्सदसमेत उपयोग गर्दै तयारी जारी राखे। कुनै भौतिक वा अनलाइन कक्षाको सहारा नलिई, शुद्ध स्व–अध्ययनको भरमा अन्ततः २०८२सालमा दोस्रो प्रयासमा उनी नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भए।

हाल उनी नेपाल प्रहरी विशेष सुरक्षा गण, वेलचौतारा तनहुँमा दरबन्दीमा भएपनि, काजमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्। उनका शब्दहरू भावुक छन्, तर प्रेरणाले भरिएका छन्:-
“हिजो गाउँमा मिश्री र पानीले खाजा टार्ने बालक आज प्रहरी अफिसर बनेर समाजको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेकोछ। यो सबै आमाको संघर्ष, मिहिनेत र ममता कै उपज हो।”
विक्रान्तका जीवनका प्रत्येक पाइलाले देखाउँछ—सपना देख्न पैसाको होइन, आँट र आत्मविश्वासको आवश्यकता पर्छ।विक्रान्त तामाङ जस्ता पात्रहरूले प्रमाणित गर्छन् कि अप्ठ्यारा परिस्थितिले होइन, दृढ निश्चय, इमान र मिहिनेतले मानिसकोभविष्य बनाउँछ।
उनको भनाइ छ—“जहाँ संघर्ष छ, त्यहीं सम्भावना पनि लुकेको हुन्छ। अवसरले हामीलाई खोज्दैन, हामीले नै अवसर खोज्नुपर्छ।”
वास्तवमै, विक्रान्त तामाङको जीवन केवल प्रहरी अफिसर बन्ने कथा होइन—यो हजारौं युवालाई अँध्यारोबाट उज्यालोमा डोहोर्याउने प्रेरणाको उज्यालो किरण हो। आजका युवाहरूका लागि उनका पाइलाहरू अनुकरणीय छन्, र उनका संघर्षको कथा, विश्वास र अडान जीवनमा कहिल्यै नझुक्ने पाठ बनोस्।



