
दैलेख, बैशाख २० –प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बहादुर बरालले जिल्ला प्रहरी कार्यालय दैलेखको कमाण्ड सम्हालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागको कर्मचारी पत्रअनुसार बराललाई दैलेख सरुवा गरिएको थियो। शनिबारदेखि औपचारिक रूपमा उनले दैलेखको नेतृत्व सम्हाल्दै कार्यभार सुरु गरेका हुन्।
डीएसपी बरालको आगमनको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखमा एक विशेष स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। प्रहरी निरीक्षक लालबहादुर सुनारसहित सम्पूर्ण प्रहरी टोलीले नयाँ प्रमुखलाई स्वागत गर्दै शुभकामना दिएका थिए।

सोमबार कार्यालयको सम्पूर्ण जिम्मेवारी ग्रहण गरेका बरालले त्यसपछिको पहिलो काम स्वरूप कार्यालय अन्तर्गतका सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा उनले प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गर्दै विभागीय नीति, मापदण्ड र आचारसंहितालाई पालना गर्दै इमानदारी, अनुशासन र कर्तव्यनिष्ठाका साथ सेवा प्रवाहमा खटिन निर्देशन दिएका छन्।
बरालले निरीक्षणका क्रममा भने, “समाजमा शान्ति, सुरक्षा र विधिको शासन स्थापनाका लागि प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण छ। हाम्रो कार्यशैली जनमैत्री हुनुका साथै प्रभावकारी हुनुपर्छ।”
उनको नेतृत्वमा अब दैलेखमा अपराध नियन्त्रण, कानुनको प्रभावकारी कार्यान्वयन तथा आम नागरिकप्रति प्रहरी सेवाको पहुँचमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
यसअघि डीएसपी बरालले पश्चिम नेपालको एक अति संवेदनशील मानिएको इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको सफल नेतृत्व गरिसकेका छन्। त्यहाँ उनले संगठित अपराध नियन्त्रण, लागुऔषध कारोबारमाथि कडाइ तथा जनताको विश्वास जित्न सक्ने किसिमको प्रहरी सेवा प्रवाह गराएका थिए। त्यही अनुभवले दैलेखमा पनि सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्ने विश्वास स्थानीयवासी तथा प्रहरी अधिकारीहरूले लिएका छन्।
बरालको नेतृत्वमा दैलेखको सुरक्षा अवस्था थप मजबुत हुने जनअपेक्षा रहेको छ। जिल्लाका नागरिकहरू पनि नयाँ प्रमुखसँग आशावादी देखिएका छन्।



