
कोहलपुर, बाँके — इलाका प्रहरी कार्यालय कोहलपुरमा हालै नियुक्त भएकी प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालको नेतृत्वमा आज २०८२ साल वैशाख २० गते परिचयात्मक तथा निर्देशनात्मक कार्यक्रम सम्पन्न गरिएको छ। मातहत सम्पूर्ण प्रहरी इकाइ प्रमुखहरूसँग परिचय आदान–प्रदान र निर्देशनका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
डिएसपी खनालको कोहलपुरमा सरुवा हुनु इलाका प्रहरी कार्यालय कोहलपुरको इतिहासमा विशेष महत्वको विषय बनेको छ। यो कार्यालयको नेतृत्वमा पहिलोपटक महिला प्रहरी अधिकृतको आगमनले संस्थागत दृष्टिकोणमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। महिला नेतृत्वले प्रहरी प्रशासनमा सशक्तता, उत्तरदायित्व र सेवा–मुखी प्रवृत्तिको प्रवाह बढाउने विश्वास जनाइएको छ।

कार्यक्रमका क्रममा डिएसपी खनालले विगतका गतिविधिहरूको समिक्षा प्रस्तुत गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षाको सुदृढीकरण र नागरिक–मैत्री सेवा प्रवाहमा कुनै सम्झौता नगर्न निर्देशन दिइन्। उनले मातहत प्रहरी इकाईहरूलाई पारदर्शिता, अनुशासन र समर्पणका साथ कार्य गर्न प्रेरित गर्दै, नीति निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्।
डिएसपी खनाल प्रहरी संगठनमा कर्तव्यनिष्ठ, निडर र सशक्त नेतृत्वदायी अधिकृतका रूपमा चिनिएकी छिन्। उनको आगमनसँगै कोहलपुर क्षेत्रको सुरक्षा प्रणाली अझ प्रभावकारी र संवेदनशील हुने अपेक्षा गरिएको छ। स्थानीय तह, नागरिक समाज तथा प्रहरी कर्मचारीहरूबाट समेत उनको कार्यकालप्रति सकारात्मक आशा व्यक्त गरिएको छ।



