
कञ्चनपुर — जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले शनिबारदेखि आफ्नो कार्यभार औपचारिक रूपमा सम्हालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत तथा प्रशासन विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाको वैशाख १५ गतेको सरुवा आदेशअनुसार उनी कञ्चनपुर आइपुगेका हुन्।
नयाँ प्रहरी प्रमुखका रूपमा कार्यभार सम्हाल्नेबित्तिकै एसपी खत्रीले मातहतका प्रहरी अधिकृत तथा कर्मचारीहरूसँग परिचयात्मक बैठक गर्दै आवश्यक निर्देशन दिएका छन्। उनले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा नागरिकसँगको सहकार्यलाई प्राथमिकता दिने स्पष्ट संकेत दिएका छन्।

एसपी खत्री प्रहरी संगठनभित्र अनुशासित, निडर र रणनीतिक नेतृत्व क्षमता भएका अधिकारीका रूपमा परिचित छन्। अघिल्ला कार्यक्षेत्रहरूमा उनले देखाएको सक्रियता, निष्पक्षता र कर्तव्यपरायणताले उनलाई सफल प्रहरी अधिकृतको छवि निर्माण गर्न मद्दत गरेको छ।
उनको आगमनसँगै कञ्चनपुरमा सुरक्षा व्यवस्था थप सुदृढ हुने र अपराध नियन्त्रणमा प्रभावकारी पहल हुने जनअपेक्षा रहेको छ। स्थानीय नागरिक, जनप्रतिनिधि र सुरक्षासम्बन्धी सरोकारवालाहरूले एसपी खत्रीलाई सफल कार्यकालको शुभकामना दिँदै पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्।



