
सुरक्षा सरोकार,काठमाडौँ — प्रविधिसँग सँगै अघि बढ्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय मंगलटारले सुरक्षा व्यवस्थापनमा उल्लेखनीय फड्को मारेको छ। नेपाल प्रहरीको कार्यसम्पादन सम्झौताअन्तर्गत सञ्चालित नवप्रवर्द्धनात्मक योजनामा आधारित रही मंगलटारमा Automatic Number Plate Recognition (ANPR) CCTV प्रणाली र सौर्यऊर्जा प्रणालीको औपचारिक शुभारम्भ गरिएको हो।
अपराध नियन्त्रणमा प्रविधिको उपयोग— बीपी राजमार्गमा हुने सवारी दुर्घटना, चोरी तथा फरार अपराधीहरूको पहिचान र निगरानीलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्रविधियुक्त सीसीटीभी प्रणाली जडान गरिएको छ। त्यस्तै, बारम्बारको विद्युत अवरोधका कारण प्रहरी सेवामा आउने प्रभावलाई न्यूनीकरण गर्न २८०० वाट क्षमताको सौर्य ऊर्जा प्रणाली समेत सञ्चालनमा ल्याइएको मंगलटार कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।


उक्त कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले गर्नुभयो भने, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उपाध्यक्ष मिम वहादुर वाईवा (ज्वाला), प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना, सञ्चारकर्मी, प्रहरी कर्मचारी र अन्य सरोकारवालाको उपस्थिति रहेको सो कार्यक्रमले मंगलटारमा प्रविधि–मैत्री सुरक्षाको नयाँ युग सुरु गरेको संकेत दिएको छ।
मंगलटार : प्रविधि–आधारित प्रहरी सेवा केन्द्रको उदाहरण
ANPR प्रणालीले अपराध अनुसन्धानमा सहजता ल्याउने मात्र नभई, प्रहरी–समुदाय सम्बन्धलाई समेत बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। अपराध नियन्त्रणका लागि प्रविधिको प्रयोगले मंगलटारलाई प्रदेशस्तरमै उदाहरणीय प्रहरी इकाइको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
२०८१ सालको बाढी–पहिरोको पीडादायी अनुभवले सिकाउँदै सौर्य ऊर्जा प्रणाली जडान गरिएको हो। विद्युत अवरोधका कारण सेवामा आउने बाधा हटाउन यो प्रणाली दीर्घकालीन समाधानका रूपमा कार्यान्वयनमा आएको प्रहरी निरीक्षक गिरीले बताए।
कुशल नेतृत्व : प्रहरी निरीक्षक कृष्ण गिरीको उदाहरणीय भूमिका

प्रहरी निरीक्षक कृष्ण गिरीको योजनाबद्ध सोच, सक्रियता र समन्वय क्षमताका कारण इलाका प्रहरी कार्यालय मंगलटारले प्रविधि र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ। नवप्रवर्द्धनात्मक उपायको सफल कार्यान्वयन, प्रहरी जनशक्तिको मनोबल अभिवृद्धि र स्थानीय तहसँगको सहकार्यमार्फत गिरीले जनमैत्री र प्रभावकारी प्रहरी सेवाको स्पष्ट छाप छोडेका छन्।
कार्यक्रमको अवसरमा प्रहरी कर्मचारीलाई गेम ड्रेस वितरणसमेत गरिएको थियो, जसले संगठनात्मक एकता र प्रेरणा अभिवृद्धिमा सकारात्मक योगदान पुर्याएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारको यो नवीनतम प्रयासले प्रविधि, ऊर्जा र संस्थागत सुधारको त्रिकोणीय संयोजनमार्फत सुरक्षामा गुणात्मक फड्को मारेको छ। प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वमा मंगलटार अब प्रविधि–मैत्री प्रहरी सेवाको उत्कृष्ट प्रतिमानको रूपमा अघि बढिरहेको छ।




