काठमाण्डौं, बैशाख १७ — “प्रहरी जनताका रक्षक हुन्” भन्ने नारा मिर्चैया इलाका प्रहरी कार्यालयमा भने एक जना प्रहरी कर्मचारीका कारण व्यंग्य जस्तै बनेको छ। असई (सहायक निरीक्षक) सौरभ झाले सेवाग्राहीसँग घुस माग्ने, प्रतिवादीसँग पैसा लिएर पक्राउ नगर्ने, मुद्दा फाँटमा असमान र अनैतिक व्यवहार गर्ने जस्ता गम्भीर आरोपमा पुनः आलोचनाको केन्द्रमा आएका छन्।

झाले सोमबार मात्रै एक सेवाग्राहीसँग मुद्दासम्बन्धी काम सहज गरिदिने बहानामा १० हजार रुपैयाँ घुस मागेका थिए। तर, सञ्चारकर्मीले थाहा पाएपछि उनी डराएर पैसा लिन अस्वीकार गरेका थिए। यो त एक उदाहरण मात्र हो—स्थानीयहरूका अनुसार उनले पटक–पटक यस्ता कार्य दोहोर्याउँदै आएका छन्।

पीडितहरूका भनाइ अनुसार, झाले मुद्दा दर्ता भए पनि प्रतिवादीसँग मिलेमतो गर्दै पक्राउ प्रक्रिया रोक्ने, अदालतमा प्रतिवादी फरार देखाएर फाइल बुझाउने जस्ता कार्य गर्दै आएका छन्। मिर्चैयाकै एक बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा प्रतिवादी खुलेआम घुमिरहे पनि प्रहरीले उनलाई ‘फरार’ देखाएर फाइल अदालती प्रक्रियामा पठाएको देखिएको छ। “मैले त प्रतिवादीलाई कईंपटक झासँगै देखेको थिएँ,” ती पीडित सेवाग्राहीले भने।

असई झाले हाकिमहरूको नाममा समेत पैसा असुल्ने गरेको साना दर्जाका प्रहरी स्रोतहरूको दाबी छ। यसअघि पनि उनीमाथि त्यस्तै उजुरी परेपछि नसिहत दिइएको थियो। तर, कारबाहीको प्रभाव नपरी हाल उनी पुनः मुद्दा फाँटमै काम गरिरहेका छन्।

एक जना प्रहरी कर्मचारीको गैरजिम्मेवार, भ्रष्ट र अनैतिक व्यवहारले सम्पूर्ण संगठनको साखमाथि धक्का पुगेको स्थानीयको गुनासो छ। अब प्रहरी नेतृत्वले यस्ता कर्मीहरूलाई संरक्षण गर्न छाडेर निष्पक्ष छानबिन र कठोर कारबाहीको बाटो रोज्नुपर्ने समय आएको छ।

नारा होइन, आचरणमा न्यायको अभ्यास गरियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय