
काठमाडौं, वैशाख १२ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालित मेटाका सबै सामाजिक सञ्जालहरू — फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम — ७ दिनभित्र सरकारमा दर्ता नभए प्रतिबन्ध लगाउने स्पष्ट चेतावनी दिएका छन्।
मन्त्री गुरुङले विहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, “मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम होला, चलिरहेका छन्। यत्रो धेरै चलिरहेका छन्। हरेक घण्टामा यही समाजबाटै २–४ हजार रुपैयाँ मेटाको कार्यालयमा गइरहेको होला।”

उनले मेटा जस्ता बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा व्यवसाय गरेर ठूलो आर्थिक लाभ उठाइरहेको तर न सरकारमा दर्ता भएको, न कर तिर्ने व्यवस्था मिलाएकोप्रति आक्रोश पोखे। “हाम्रो पैसा त्यसरी लुट्ने? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन? पर्छ नि,” उनले प्रस्ट पारे।
गुरुङका अनुसार मन्त्रालयले तीनपटक आधिकारिक सूचना जारी गरेर मेटालाई नेपालमा दर्ता हुन आग्रह गरिसकेको छ। तेस्रोपटकको सूचना अनुसार दिएको म्याद पनि सकिएको भन्दै उनले अब ७ दिनभित्र कदम चालिने बताए। “अब ७ दिनभन्दा बढी दिन्नँ मैले,” उनले भने, “यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिँड्यौँ। तर उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र? नेपाल त हाम्रो संस्थाभन्दा धेरै सानो हो भन्छन् रे।”
उनले राष्ट्रको स्वाधीनता पैसामा मात्र निर्भर नहुने प्रष्ट पार्दै मेटा जस्ता संस्थाहरूले नेपालको कानुन, नीति र सार्वभौम अधिकारको सम्मान गर्नुपर्ने धारणा राखे। “मुलुकको स्वाधीनता पैसामा जोडिँदैन,” उनले जोड दिए।
नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जाल अत्यधिक प्रयोग हुने प्लाटफर्महरूमा पर्छन्। यदि सरकारले मेटामाथि प्रतिबन्ध लगाउने निर्णय लियो भने, यसले ठूलो जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ।
अब हेर्न बाँकी छ — मेटाले सरकारको चेतावनीलाई कति गम्भीरतापूर्वक लिन्छ, र आगामी सात दिनभित्र नेपालमा आफ्नो प्रतिनिधित्वद्वारा दर्ता प्रक्रिया अगाडि बढाउँछ कि गर्दैन।



