काठमाण्डौं — बझाङको बुङगल नगरपालिका–७ की ३५ वर्षीया मधुरा जाग्रीको जीवन सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा प्रसाद भट्टको समयमै गरेको रक्तदानबाट बच्न सफल भएको छ। सात छोरीकी आमा जाग्री यसपटक अपरेसनमार्फत शिशु जन्माउन बझाङ जिल्ला अस्पताल पुगेकी थिइन्।

अपरेसनको क्रममा आवश्यक रगत अभाव हुँदा स्थिति गम्भीर बन्दै गइरहेको थियो। जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले रगत आवश्यक रहेको जानकारी दिएपछि पीडितका श्रीमान तनावमा परेका थिए। यद्यपि डा. जोशीले स्वयं रगत दिन तयार रहेको बताए पनि रगतको मिलान भएन।

यसैबीच, जाग्रीका श्रीमानले सशस्त्र प्रहरी बल बझाङका डिएसपी भट्टलाई फोनमार्फत सहयोगको अपील गरे। संयोगवश, डिएसपी भट्टको रक्तसमूह मिल्ने भएपछि उहाँ तुरुन्तै जिल्ला अस्पताल पुगे र रक्तदान गरे।

डिएसपीको रक्तदानपछि डा. जोशीको नेतृत्वमा सफल अपरेसन सम्पन्न भई जाग्रीले एक छोरालाई जन्म दिइन्। सात छोरीपछि जन्मिएको छोरा र आमाको ज्यान बचेकोमा परिवारमा खुशीको माहोल छ।

जाग्रीका श्रीमानले डा. जोशीलाई “भगवानजस्तै” भएको भन्दै आभार प्रकट गरेका छन्। डा. जोशीले सुत्केरी महिलाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय