
सुरक्षा सरोकार ,काठमाण्डौं । सुदुरपश्चिममै पहिलो पटक गेटास्थित धनगढी–अत्तरिया सिक्स लेन सडक खण्डमा तिब्र गतिका कारण बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले आज देखि लिडार स्पिड गनमार्फत सवारीको गति जाँच सुरु गरेको छ।
सुदूरपश्चिम राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाले सिक्स लेन सडकमा दैनिक रूपमा निगरानी थालिसकेको छ। लिडार स्पिड गनको प्रयोग गरी तीव्र गतिमा सवारी चलाउने १३ जनामाथि हालसम्म कारबाही गरिसकिएको निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए।

स्पिड गनको सहायताले सडकमा सुरक्षित र अनुशासित सवारी चलाउन सबै चालकहरूलाई आग्रह गरिएको छ। ट्राफिक प्रहरीले अब सिक्स लेनलाई सुरक्षित गन्तव्य बनाउने लक्ष्यका साथ नियमित चेकजाँच र निगरानीलाई सशक्त बनाउने बताएको छ।
सुदूरपश्चिम राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका भन्नुहुन्छ — “स्पिड गन केवल प्रविधि होइन, यो सवारी दुर्घटना न्यूनीकरणको एक प्रभावकारी उपाय हो — जसले ट्राफिक सुरक्षा प्रणालीलाई आधुनिक र विश्वसनीय बनाउँछ।”
स्पिड गनको सहायताले सडक सुरक्षित बनाउने मुख्य तरिका के -के हुन भन्ने सुरक्षा सरोकारको प्रश्नमा डिएसपी जोरा भन्नु हुन्छ —
१. गति नियन्त्रणमा सहयोग- स्पिड गनले सवारी साधनको वास्तविक गति तुरुन्त मापन गर्न सक्छ। यसले तिब्र गतिमा गाडी चलाउने चालकलाई तुरुन्तै चिनेर कारबाही गर्न सकिने बनाउँछ। जब चालकलाई थाहा हुन्छ कि स्पिड चेक भइरहेछ, उनीहरू स्वचालित रूपमा नियममा बस्न थाल्छन्।
१. दुर्घटना घटाउने प्रभाव— तिब्र गति दुर्घटनाको मुख्य कारण हो। स्पिड गनले गति सीमा उल्लंघन नियन्त्रण गर्दा दुर्घटना सम्भावना घट्छ। कम गतिमा गाडी चलाउँदा चालकले आकस्मिक अवस्था सम्हाल्न सक्ने समय पाउँछ।
३.अनुशासन र नियम पालनमा वृद्धि—स्पिड गनको प्रयोगले ट्राफिक नियम पालना गर्न दबाब दिन्छ। यसले दीर्घकालमा सवारी अनुशासनलाई प्रवर्द्धन गर्छ।
४. सजिलै प्रमाणित कारबाही— चालकको स्पिड प्रमाणसहित देखाएर कारबाही गर्न सकिने भएकाले अन्यायको सम्भावना घट्छ र प्रहरीको कार्य पनि पारदर्शी देखिन्छ।
५.जनचेतना अभिवृद्धि— स्पिड गन प्रयोगको जानकारी फैलिँदा सर्वसाधारणमा पनि ट्राफिक नियमको महत्त्वप्रति चेतना बढ्छ — जसले सामूहिक रूपमा सुरक्षित सडक संस्कृति विकास गर्न मद्दत गर्छ।




