
काठमाण्डौं— जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी बरिष्ठ उपरीक्षक (एसपी) ले गर्ने प्रावधान भए पनि बारामा विगतदेखि नै वास्तविक सत्ता प्रहरी नायब निरीक्षक (सई) को हातमा रहँदै आएको आरोप लागेको छ। पथलैयास्थित प्रहरी चौकीमा लामो समयदेखि कार्यरत बरिष्ठ सई विनोद काफ्ले र रोशन अधिकारी बारा प्रहरीको क्राइम नेटवर्क सञ्चालन गरिरहेको खुलेको छ।
सूत्रका अनुसार बारा जिल्लामा तीन एसपी फेरिए पनि सईहरू परिवर्तन भएका छैनन्। सुरेश काफ्ले, महेन्द्र खड्का र हालका एसपी सन्तोष तामाङकै पालामा पनि काफ्लेको हैकम यथावत रह्यो। उनीहरू दिनभरी कार्यालयमा उपरखुट्टी लगाएर सिपाही–हवलदारलाई असुलीमा खटाउने, बेलुका सत्तारुढ नेताहरूसँग भोजमा रमाउने काममा व्यस्त हुने गरेको आरोप लागेको छ।

एसपी तामाङले सई अधिकारीलाई पथलैयाबाट हटाउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको दबाब परेको बताइएको छ। फलस्वरूप, एसपी निरीह बन्न बाध्य भएका छन्।
पछिल्लो समय तस्करी नियन्त्रणका लागि एसपी तामाङले असई मनोज यादव र हवलदार महम्मद हुसेनको टोली परिचालन गरेपछि केही समयका लागि भन्सार छलीमा रोक लागेको थियो। तर, ती असईहरूद्वारा तस्कर नियन्त्रणमा लिइएपछि कांग्रेस निकट व्यापारीहरूको उजुरीका आधारमा उनीहरूलाई प्रहरी प्रधान कार्यालयले तान्यो।
यादव र हुसेन हटाइएपछि पुनः विनोद काफ्लेको संरक्षणमा तस्करीको गतिविधि खुलेरै चलिरहेको छ। उजुरी छानबिन शाखाका प्रमुख एसएसपी कृष्ण कोइरालाले पनि काफ्ले, रोशन अधिकारी र चन्दन यादवलाई छानबिनमा ल्याउन प्रयास गरे तापनि राजनीतिक दबाबका कारण असफल भएका छन्।
यसरी बारा प्रहरी कार्यालय नेतृत्व गर्ने एसपीहरूको उपस्थितिलाई केवल औपचारिकता बनाउँदै सईहरूले क्राइम नेटवर्क चलाइरहेको अवस्था अहिले पनि जस्ताको तस्तै रहेको देखिन्छ।



