
काठमाण्डौं— जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा आयोजित मासिक मिटिङ्ग कार्यक्रमका क्रममा कार्यालय प्रमुख, प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले जिल्लाका मातहत प्रहरी इकाइका प्रमुखहरुलाई विभिन्न समसामयिक विषयमा निर्देशन दिएका छन्। उनले भारतीय सीमानाकाहरुमा हुने चोरी–तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, महत्वपूर्ण स्थान तथा आम नागरिकको सुरक्षा, प्राकृतिक प्रकोपप्रति तत्काल प्रतिक्रिया, प्रहरी आचारणमा उच्च नैतिकता र सामाजिक संजालको सही प्रयोगमार्फत् प्रहरीले जनतासँग सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार सत्यनारायण यादवलाई चैत महिनाको ‘प्रहरी अफ द मन्थ (Police of the Month)’ का रूपमा प्रशंसा–पत्रद्वारा सम्मान गरिएको छ। त्यस्तै, अन्य उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पनि नगद पुरस्कार प्रदान गरी कदरघना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




