
काठमाण्डौं— शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति गोली प्रहार भएको छ। राति करिब ११:३० बजेको समयमा मायादेवी गाउँपालिका–१ पकडीस्थित आफ्नै निवासमा उहाँमाथि गोली प्रहार भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा बिजुली गएका बेला चौधरी शौचालयबाट फर्किंदै गर्दा गोली प्रहार भएको देखिएको छ।

प्रहरीलाई दिएको बयानमा अध्यक्ष चौधरीले कम्पाउन्ड बाहिरबाट पेस्तोलबाट आफूमाथि गोली हानेर आक्रमणकारी फरार भएको बताएका छन्। उनीमाथि प्रहार गरिएको गोली लाग्न नपाएकाले कुनै चोटपटक भने नलागेको डीएसपी अधिकारीले जानकारी दिएका छन्।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



