
सुरक्षा सरोकार/ काठमाण्डौं— उपत्यका र देशका प्रमुख सहरहरूमा हुने प्रदर्शनका क्रममा प्रहरीले म्याद सकिएको अश्रुग्याँस प्रहार गर्दै आएको भन्ने तथ्य सार्वजनिक भइरहेका छन्। भिडमा प्रहार गरिएका अश्रुग्याँसको खोका देखाउँदै प्रदर्शनकारीहरू प्रश्न गर्छन्, “हाम्रो स्वास्थ्यमाथि खेलवाड गर्न पाइन्छ?”
देशभर प्रदर्शन र आन्दोलनका घटना बढ्दो क्रममा रहेका बेला प्रहरी भने पुराना र म्याद सकिएका सामग्रीको भरमा हुलदंगा नियन्त्रण गरिरहेको छ। यसले सुरक्षाकर्मीको क्षमता र नागरिकको स्वास्थ्य दुवैमा प्रश्नचिह्न खडा गरेको छ। समयमै आवश्यक बजेट र खरिद प्रक्रिया पूरा गरी सुरक्षाकर्मीलाई सक्षम बनाउन सरकारको ध्यान जान जरुरी देखिन्छ।

२०७८ सालपछि नेपाल प्रहरीले अश्रुग्याँस खरिद गर्न नपाएको पृष्ठभूमिमा २०८१ चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शनमा म्याद नाघेको अश्रुग्याँस प्रयोग भएको आशंका उठेको हो। सोही प्रसंगमा राज्य व्यवस्था समितिमा सांसदहरूले प्रश्न उठाएपछि प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रतिवाद गर्दै भने, “हामी म्याद सकिएका अश्रुग्याँस नष्ट गर्ने गर्छौं। तीनकुनेमा प्रयोग गरिएका अश्रुग्याँस म्यादभित्रकै थिए।”
तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चैत २६ मा बल्खुमा आयोजित सभाबाट प्रतिप्रश्न गरे, “अश्रुग्याँसको बोक्रामा लेखिएको मिति हामीले हेरेका छैनौं?”
नेपाल प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा मात्र ४ हजार सेल अश्रुग्याँस खरिद गरेको थियो। त्यसपछि अहिलेसम्म नयाँ खरिद भएको छैन। २०७४/७५ मा १० हजार, २०७५/७६ मा ६ हजार र त्यसपछिका दुई वर्षमा चार–चार हजार सेल खरिद गरिएको थियो।
दंगा नियन्त्रण सामग्री खरिद २०७२ यता प्रभावित—
अश्रुग्याँस मात्र होइन, दंगा नियन्त्रणमा प्रयोग हुने अन्य आवश्यक सामग्री पनि प्रहरीले २०७२ यता प्रभावकारी रूपमा खरिद गर्न सकेको छैन। २०७२ मा ४ हजार ८ सय थान भिड नियन्त्रण सामग्री खरिद भए पनि त्यसयता ‘राइट कन्ट्रोल गियर’ (जस्तै, हेल्मेट, बडी प्रोटेक्टर, ढाल आदि) खरिद हुन सकेको छैन।
२०७४/७५ मा मात्र ६ हजार थान शिल्डढाल खरिद भएको थियो। तर अहिले देशभर २६ सय युनिट रहेको नेपाल प्रहरीलाई नियमित तालिम र दंगा नियन्त्रणका लागि पर्याप्त अश्रुग्याँस र सुरक्षा सामग्रीको खाँचो देखिन्छ।
प्रदर्शन नियन्त्रणका लागि मर्मत सामग्रीकै भर—
२०७८ पछि अश्रुग्याँसको नयाँ खरिद नभएपछि प्रहरीले मर्मत गरिएको सामग्री प्रयोग गर्न थालेको छ। बडी प्रोटेक्टरहरू सिलाएर वितरण गर्न थालिएको एक प्रहरी उच्च अधिकृतले बताए। लाठी भने भारतबाट नै आयात गरिने र त्यसको मर्मत सम्भव नभएको बताइएको छ।
१२ करोड बराबरको सामग्री खरिद प्रक्रिया अन्तिम चरणमा—
प्रहरीले अहिले मात्रै १२ करोड रुपैयाँ बराबरको गैरघातक सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ। यसमा एयर गन, मल्टी ग्यास गन, बडी प्रोटेक्टर सेट, शिल्डढाल लगायतका सामग्री समावेश छन्। प्रहरी उच्च अधिकृतका अनुसार यसपटक करिब ४ हजार सेट सामग्री खरिद गरिनेछ, जसमा करिब २ करोड रुपैयाँ बराबरका शिल्डढाल पनि समावेश छन्। यी सामग्रीहरू भारत र चीनबाट आयात गरिने जनाइएको छ।



