काठमाडौं – गृहमन्त्री रमेश लेखकले हालै भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्नहरूलाई पक्राउ गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभएको छ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बोल्दै गृहमन्त्रीले प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईलाई पक्राउ गरिसकिएको र अन्य आरोपीहरूको पनि खोजी तथा पक्राउ जारी रहेको बताउनुभयो।

उहाँले घटनामा घाइते भएका व्यक्तिहरूको उपचार सरकारले नै गर्ने निर्णय भइसकेको उल्लेख गर्दै भने, “उपचार गराइरहेको अस्पतालबाहिरबाट औषधि किन्नुपरेमा समेत त्यसको खर्च सरकारले नै बेहोर्नेछ।” साथै, घटनामा मृत्यु भएका दुईजनाका परिवारलाई राहतस्वरूप दस/दश लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रिपरिषद्‌को निर्णय भएको जानकारी दिनुभयो।

गृहमन्त्री लेखकले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र लोकतान्त्रिक व्यवस्था मास्ने प्रयत्नको रूपमा व्याख्या गर्दै यस्तो प्रकारको गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो। “लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी गर्नु उपयुक्त होइन,” उहाँले भन्नुभयो, “हिन्दू धर्मजस्तो उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिक स्वार्थका लागि प्रयोग गर्नुहुदैन।”

उहाँले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा असन्तुष्टि राख्न पाउने अधिकार सबैलाई भए पनि त्यसको विकल्प खोज्ने वा पुरानै अवस्थातिर फर्किन खोज्नु अस्वीकार्य भएको उल्लेख गर्नुभयो। “सरकार यस्तो प्रकारका घटना दोहोरिन नदिन गम्भीर छ,” गृहमन्त्री लेखकको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय