
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा प्रहरी प्रमुखलाई एमालेको युवा संघको सहअध्यक्षजस्तो भनी गरिएको टिप्पणीप्रति म गम्भीर आपत्ति प्रकट गर्दछु।
दिपक थापा सरलाई समग्र तीन करोड नेपाली जनता र आम नेपाल प्रहरीले जसरी चिनेका छन्, त्यस्तो पहिचान तपाईंसँग छैन भन्ने देखिन्छ। प्रहरी प्रमुख, सचिव वा उच्च पदस्थ व्यक्तिहरू चिन्नका लागि गिरिजाप्रसाद कोइरालाजस्ता राजनीतिका शिखर पुरुष वा सूर्यबहादुर थापाजस्ता बाघ जस्तै गर्जने, ठूलो छाती भएका नेताहरूजस्तो दृष्टिकोण चाहिन्छ।

दिपक थापा आफैँमा संघर्षको पर्यायवाची व्यक्ति हुन्। उनले पहाडका उकालो ओरालो, तराईको तातो घाम, र नेपालका उजाड गाउँहरूसम्म मितेरी लिएर पुग्ने निश्कपट यात्राको अभ्यास गरेका छन्। मैले जान्दासम्म उहाँले कुनै पनि व्यक्ति वा समूहलाई नकारात्मक दृष्टिले हेरेको, वा टिप्पणी गरेको देखिएको छैन।
दिपक थापा कुनै राजनीतिक दलको कार्यकर्ता होइनन्, उनी शुद्ध रुपमा नेपाल प्रहरीका एक उच्च व्यावसायिक अधिकारी हुन्। उनले प्रहरी संगठनभित्र आवाज बिहीन बनेका धेरै प्रहरीका समस्यामा आवाज बनेर उभिने साहसिक कार्य गरेका छन्, जसको भुक्तभोगी म स्वयं पनि हुँ।
उहाँ विधि, परम्परा, प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो सर्वस्व मानेर अघि बढ्ने कुशल नेतृत्वकर्ता हुन्।
राजेन्द्रजी, अहिलेको समय देशको आर्थिक, राजनीतिक, वैदेशिक, सामाजिक र धार्मिक हिसाबले जटिल मोडमा रहेको छ। अर्थतन्त्र डामाडोल अवस्थामा छ। कृपया ध्यान त्यतातर्फ लगाउनुहोस्। अहिले आम नागरिकको चासो यही हो।
भित्तामा कोरिएका अक्षर हेरेर कसैको चरित्र चित्रण गर्ने वा हल्ला फैल्याउने कार्य गर्नु सान्दर्भिक होइन। मनोविज्ञान भन्छ—अपराधबोधले ग्रस्त मानिस आफ्नै छायाँसँग पनि डराउँछ।
तसर्थ, जिम्मेवार नेतृत्वद्वारा गरिने भनाइ र व्यवहारमा गम्भीरता, गहिराइ र वस्तुगत सोच आवश्यक छ।
लेखक – राजेन्द्रबाबु रेग्मी अवकाश प्राप्त एसपी हुनहुन्छ ।



