
काठमाण्डौं— वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको सरुवा गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै खत्रीलाई मन्त्रालय फिर्ता बोलाएको हो। उनी वैशाख पहिलो सातामा अवकाश पाउन लागेका छन्।
खत्रीको स्थानमा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। गत बिहीबार मन्त्रालयले खत्रीलाई फिर्ता बोलाएर भुसाललाई विभागमा पठाएको हो।

गत भदौमा गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएका खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाइएको थियो। त्यसअघि तत्कालीन महानिर्देशक डण्डुराज घिमिरेलाई मन्त्रालय झिकेर खत्रीलाई पठाइएको थियो। हाल घिमिरे प्रधानमन्त्री रोजगार कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशक तथा मन्त्रालयका प्रवक्ता रूपमा कार्यरत छन्।



