
काठमाण्डौं—नेपाल शिक्षक महासंघले आफ्ना मागहरूमा सरकारको सुनवाइ नभएको भन्दै सोमबारदेखि देशव्यापी आम शैक्षिक हड्ताल सुरु गर्ने घोषणा गरेको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सबै शिक्षकलाई अनिवार्य रूपमा आन्दोलनमा सहभागी हुन निर्देशन दिएका छन्।
नयाँ शैक्षिक सत्र सुरु हुनु अघिको यो समय विद्यालयहरूका लागि अत्यन्त संवेदनशील मानिन्छ। यति बेला नतिजा प्रकाशन, आगामी सत्रको तयारी, एसईईको कापी परीक्षणजस्ता कार्यहरू शिक्षकमाथि निर्भर हुने हुँदा हड्तालले शिक्षण क्षेत्रमा व्यापक असर पार्ने देखिन्छ।

महासंघका अनुसार, पाँच दिनदेखि जारी आन्दोलनलाई सरकार पक्षबाट कुनै वार्ता वा संवादको प्रयास नभएको कारण दबाब थप गर्न सोमबार ‘सिठ्ठी जुलुस’को कार्यक्रम आयोजना गरिनेछ।
विज्ञप्तिमा भनिएको छ, “शिक्षकको अधिकार र सम्मान सुनिश्चित गर्न सबै शिक्षक एकजुट भएर आन्दोलनमा उत्रनुपर्छ।” महासंघले सरकारले चाँडो वार्ता प्रक्रिया अघि नबढाएमा थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।




