
काठमाण्डौं—काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्ब रुपैयाँको अवैध अभौतिक मुद्रा कारोबारमा संलग्न गिरोहका ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत राजस्थानका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकास कुमार रहेका छन्।

अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन सट्टाबाजी सञ्चालन गरेको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढी मूल्यबराबरको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



