
काठमाण्डौं— लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउन इलाममा Fight Against Narcotics (FAN) कार्यक्रम सुरु गरिएको छ। “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ सञ्चालन हुने यो विशेष तीन महिने अभियान जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा चैत्र ११ गते शुभारम्भ भएको हो।
इलाम नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षता, इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी सुब्बा दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथिले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बनेको बताउँदै, यो अभियानले लागूऔषधमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकार, सुरक्षा निकाय, अभियन्ता र समुदायले मिलेर अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले किशोरावस्थाका बालबालिका लागूऔषध दुर्व्यसनको उच्च जोखिममा रहेको भन्दै, “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नारालाई आत्मसात गर्दै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
यो अभियान अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रमा सचेतना कार्यक्रम, परामर्श सेवा, कानूनी जानकारी तथा अन्य गतिविधिहरू सञ्चालन गरिनेछ।




