
काठमाडौं — नेपालले पछिल्लो ६ महिनाको अवधिमा ४२७ जना विदेशी नागरिकलाई डिपोर्ट गरेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) नेपालले ४७ अमेरिकी नागरिकसहित ४२७ जना विदेशीलाई डिपोर्ट गरेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार, नेपालले अमेरिकाले एक वर्षमा डिपोर्ट गर्नेभन्दा बढी संख्यामा अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने गरेको देखिएको छ।

सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गर्दा नेपालले ५४ जना अमेरिकी नागरिकलाई डिपोर्ट गरिसकेको छ। नेपालले डिपोर्ट गर्ने विदेशीहरूमा सबैभन्दा ठूलो संख्या चिनियाँ नागरिकको रहेको छ। २०८१ साउनदेखि पुस मसान्तसम्म नेपालले १६८ जना चिनियाँ नागरिकलाई डिपोर्ट गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता (सन् २०२५ जनवरी २० पछि) अमेरिकाले ४३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। ट्रम्प प्रशासनले आप्रवासीहरूमा कडाइ गरेपछि नेपाली नागरिक डिपोर्टमा पर्ने क्रम बढेको हो।
अमेरिकाले अवैध तरिकाले अमेरिका प्रवेश गर्ने, गलत मनसायले बसोबास गर्ने र भिसा उल्लङ्घन गर्ने आरोपमा नेपालीहरूलाई डिपोर्ट गरेको छ। उस्तै आरोप नेपालले पनि डिपोर्ट गरिएका अमेरिकी नागरिकहरूमाथि लगाउने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी वरिष्ठ अध्यागमन अधिकृत सीता परियारले जानकारी दिइन्।
डिपोर्टमा पर्ने अधिकांश अमेरिकी नागरिकहरू भिसा अवधि सकिएपछि नेपालमै बस्ने गरेका छन्, जसका कारण उनीहरू अवैध रूपमा बसोबास गरेको ठहर गर्दै नेपाल सरकारले डिपोर्ट गर्ने गरेको हो।



