
काठमाडौं — नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ चैत ७ गतेको निर्णयअनुसार प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी उपरीक्षक (एसपी) रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरे।

समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। पदोन्नतिसँगै जिम्मेवारी र मर्यादा अझ बढ्ने उल्लेख गर्दै उनले सांगठनिक हित र विकासलाई केन्द्रमा राख्दै उच्च हौसला तथा लगनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।
पदोन्नति प्राप्त अधिकृतहरूको तर्फबाट प्रहरी उपरीक्षक रबिन कार्कीले संगठनको वृहत्तर हितलाई केन्द्रमा राख्दै जिम्मेवारी नयाँ जोश र ऊर्जा सहित वहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी), वरिष्ठ प्रहरी अधिकृतहरू, अन्य प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।




