काठमाण्डौं — कैलालीको घोडाघोडी नगरपालिका-९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका १०० भन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र खाली गर्न आदेश दिएको छ।

भारत, अमेरिका, चीनलगायत विभिन्न देशका नागरिक रेन्बो फेमिली ग्यादरिङ नामक समूहको रूपमा करिब एक हप्ता अघि जंगल क्षेत्रमा पुगेका थिए। तर, कुनै पनि सरकारी निकायबाट स्वीकृति नलिई वन क्षेत्रमा अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आएपछि प्रशासनले उनीहरूलाई तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको हो।

बिहीबार, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा निकायका प्रमुखहरू सिमली जंगल पुगेका थिए। निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी हमालले विदेशी नागरिकहरूलाई २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिए।

“उनीहरूले नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति लिएको देखिएन। स्थानीय बासिन्दाहरूले अस्वाभाविक गतिविधि भइरहेको गुनासो गरेपछि हामी अनुगमन गर्न पुगेका थियौँ। कानुनी प्रक्रिया अनुसार उनीहरूलाई क्षेत्र खाली गर्न निर्देशन दिएका छौँ,” हमालले बताए।

अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू नेचर लभर (प्रकृतिमा रमाउने व्यक्ति) भएको दाबी गरेका थिए। तर, अनुमति बिना वन क्षेत्रमा बस्नु कानुनी रूपमा गलत भएकाले प्रशासनले आवश्यक कदम चालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय