
काठमाण्डौं— ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठले सवारी चालकहरूमा ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित ‘दुईपाङ्ग्रे चालकसँग दुई मिनेट’ नामक सचेतना कार्यक्रम सुरु गरेको छ। काठमाडौं उपत्यकाभित्र सञ्चालनमा ल्याइएको यो कार्यक्रम विशेष गरी दुई पाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरिएको छ।
ट्राफिक कार्यालयका अनुसार कार्यक्रम प्रत्येक दिन विशेष स्थानहरू छनोट गरी कम्तीमा एक घण्टा नियमित रूपमा सञ्चालन गरिनेछ। यसको क्रममा चालकहरूलाई ट्राफिक नियम, सडक सुरक्षा मापदण्ड तथा जिम्मेवार सवारी सञ्चालनबारे छोटो तर प्रभावकारी जानकारी प्रदान गरिनेछ।

बुढानिलकण्ठ ट्राफिक कार्यालयका प्रमुख, प्रहरी नायब निरीक्षक बिक्रम वि.कले भने, “दिनानुदिन बढ्दै गएको सवारी दुर्घटनान्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम अपरिहार्य छ। यदि सवारी चालक, सवारीधनी, व्यवसायी तथा जिम्मेवार नागरिकहरूले ट्राफिक नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ।”
कार्यक्रममा सहभागी चालकहरूले यस्ता जानकारीमूलक प्रयासहरू अत्यन्त उपयोगी रहेको बताएका छन्। ट्राफिक कार्यालयले आगामी दिनहरूमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाएको जनाएको छ।




