
काठमाडौं– प्रहरीले २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा सहित पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा (फुच्चे) पाँच वर्षअघि सुन बोक्ने भरियाका रूपमा कार्यरत रहेको खुलेको छ। प्रहरी अनुसन्धानका क्रममा उनी सुन तस्करी प्रकरणमा संलग्न भई पाँच वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको पनि पुष्टि भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको डीएसपी अनिल अधिकारी नेतृत्वको टोलीले चैत ४ गते राति ११ बजेकाठमाडौंको झोर क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो। पक्राउ परेपछि उनलाई चैत ५ गते कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

लामा काठमाडौंबाट चीनको केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक सहित पक्राउ परेका थिए। प्रहरीले ट्रकको चालक क्याबिनको माथिल्लो भागमा लुकाइएका अमेरिकी डलर, युरो लगायतका विदेशी मुद्रा बरामद गरेको छ। उक्त रकमको कुल मूल्य २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँबराबर रहेको बताइएको छ। प्रहरीले लामा साथबाट दुईथान मोबाइल फोन समेत बरामद गरेको छ।
सुन तस्करीमा संलग्न भइसकेको व्यक्ति—
काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका कुसाङ लामा विगतमा सुन तस्करीमा संलग्न भई पाँच वर्ष जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति भएको खुलेको छ। अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानबाट बरामद रकम सुन किन्ने प्रयोजनका लागि आएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका लामाले केरुङसम्म विदेशी मुद्रा पुर्याउन भनिएको बयान दिएका छन्। भन्सार तथा राजस्व छली गरी अवैध मुद्रा कारोबार गरेको हुनाले उनलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारबाहीको दायरामा ल्याउन थप अनुसन्धान भइरहेको छ। हाल उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको छ।



